प्रेम परियारकै कारण हामी चर्चामा छौः विकास आचार्य



bikash

यतिबेला नेपाली चलचित्र उद्योगमा बेग्लै उत्साह छ। शुक्रवार (चैत २८) रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल-२’ले दर्शकलाई हल पुर्याीउन सफल भईरहेको छ। खासगरी प्रचार-प्रसारमा बाल कलाकारलाई अगाडी सारिएको यो चलचित्र पनि बालकथामा नै बनेको छ। चलचित्रका पुराना लेखक तथा निर्देशक विकास आचार्यले अघिल्लो चलचित्र ‘नाई नभन्नु ल’को सिक्वेलमा यो चलचित्र निर्देशन गरेका हुन्। यसरी किन बढि चर्चा बिश्वास भयो त यो चलचित्रप्रति ? यस्तै केहि प्रश्न ठुलोपर्दा डटकमका जिवन पराजुलीले निर्देशक आचार्यसामु राखेका थिएः

१. अहिलेको अवस्थामा आउँदा ‘नाई नभन्नु ल-२’ले नयाँ रेकर्ड कायम गर्ने सम्भावना बढेको छ। के छ त्यस्तो जसको कारण दर्शकले हलमा ओईरिए ?
हामीले एउटा नयाँ विचार लिएर नै चलचित्र बनाएको हो। आजसम्म बालापनको कथामा चलचित्र बनेको थिएन। यो पहिलो नेपाली चलचित्र हो। त्यो कारणले गर्दा एउटा नौलो कुरा भयो र अर्को गीत-संगीत पनि यसको प्रमुख पाटो हो। यो सँगसँगै गीत-संगीतको उचाई र हाम्रा विगतका कामहरु देखेर नै आज दर्शकहरु हलसम्म आउनुभएको छ। मेरो चाहना के हो भने रेकर्ड राख्ने भन्ने कुरामा चाहिँ म बिश्वास राख्दिन। मेरो दायित्व दर्शकलाई उत्कृष्ट चलचित्र दिने हो। सामाजिक मुल्य र मान्यता अनुसार समाजमा भएका घटनालाई चलचित्रको माध्यमबाट देखाउने प्रयास हो। यस्तै कारणहरुले गर्दा ‘नाई नभन्नु ल-२’लाई दर्शकले स्विकार्दिनु भएको हो जस्तो मलाई लाग्छ।

२. चलचित्रमा पुराना स्टार पनि छन्, नयाँ पुस्ताका उमेर पुगेका कलाकार पनि छन्। तर पनि बालकथालाई नै चलचित्रमा ल्याउनुपर्ने आवश्यकता किन भयो ?
बालापनको कथा लिएको हो। भएको घटनालाई नै आलेखमा रुपान्तरण गरेर पर्दामा उतारिएको हो। त्यो सँगसँगै विभिन्न चरित्रहरु हुन्छन्। जीवनमा आफ्नो मात्र कथा हुँदैन, जोडिएर विभिन्न पात्रहरु आउँछन्। बालापनको कथा भएपनि त्योसँगै आएका कथाले चलचित्रलाई जिवन्तता प्रदान गरेको छ। उहाँहरुको उत्कृष्ट अभिनयले, उहाँहरुको उपस्थितीले चलचित्रको गरिमा बढाएको छ। यस हिसाबले पनि मैले जे सोचेको थिएँ, मेरो जुन परिकल्पना थियो उहाँहरुको सहयोगको कारण साकार भएको हो। एउटा राम्रो चलचित्र बन्न पुगेको हो।

३. सबैले फुच्चे स्टार भन्छन्। अनुभव रेग्मीलाई तपाईँले ‘रिदम’ देखी नै छोड्नुभएको छैन। उसमा भएको खास कुरा के हो ?
अनुभव रेग्मी एउटा माझिएको कलाकार हो। कुनै कुरा भन्यो भने त्यसलाई ग्रहण गर्ने क्षमता अतुलनिय छ। मैले हरुमा चाहिँ त्यो स्तरमा देखेको छैन। त्यो कारणले उसलाई ‘नाई नभन्नु ल-२’मा लिएको हो। बाल कलाकारमा के फाईदा हुन्छ भने उनिहरु निर्धक्कले काम गर्छन्। उनिहरुमा एउटा सचेतताको कमि हुन्छ, जे बन्यो त्यो निर्धक्क गर्छन्। मैले सोचेको कुरालाई लिएर काम गर्न सक्ने उसमा क्षमता भएकोले पनि मैले उसलाई निरन्तरता दिएको हो। भबिष्यमा पनि उसँग काम गर्ने मेरो इच्छा छ। मेरो नजरमा उ एउटा राम्रो कलाकार हो।

४. अनुभवसँगै सुज्ञानीको पनि मुख्य भुमिका नै छ। तर पनि चर्चा अनुभवको नै बढि छ, किन ?
चलचित्र हेर्नेहरुले सुज्ञानीको पनि चर्चा गर्नुभएको छ। नहेरूञ्जेल यस्तो लाग्ने हो। सुज्ञानीको अभिनय क्षमता पनि उति नै राम्रो छ। उनले मुरी-मुरी स्यावासी पाएकी छिन्। दर्शकले चलचित्र हेरेर निस्कनेले अनुभव सँगसँगै सुज्ञानीको पनि तारिफ गरेको हुनाले अब हेर्ने दर्शकले पनि सुज्ञानीको अभिनय मन पराउनुहुनेछ। सुज्ञानीको पनि भबिष्य उज्ज्वल देखेको छु।

५. अर्को बाल कलाकार(गायक) प्रेम परियारलाई अगाडी सार्नुभाको छ। प्रेमलाई नै अगाडी ल्याउनुमा अन्य के कारण छ ?
एउटै कारण छ। प्रेमलाई एउटा पहिचान दिनु हो। राजेश, स्वरुप, रजिनालाई सबैले चिन्नुहुन्छ। संसारभर प्रेमको स्वरलाई चिनाउनु मेरो उद्देश्य हो। राजेश पायल राई, स्वरुप राज आचार्य पछाडी पर्नुभएको छैन। उहाँहरुको गीतलाई पनि धेरैले मन पराउनुभा’को छ, जसले अडियो सुन्नुभा’को छ। भिडियोमा उहाँहरुको गीत आएको छैन। चलचित्रमा गाउनु अगाडी नै प्रेमले एक उचाई लिसक्नु भा’को थियो, त्यसमा एउटा खुड्किलो थप्ने काम मात्रै हामीले गरेका हौँ। उहाँकै कारण आज हामी चर्चामा रहेका छौँ। चलचित्रले एउटा प्रसिद्दि कमाईरहेको छ।

६. बाहिर जे भनिएपनि पुराना गायकबाट केहि असन्तोषको भाव झल्किएको छ। उहाँहरुले आँफै फोटो राखेर अडियोलाई भिडियो बनाई यु-ट्युबमा राख्नुभा’को छ। यसमा तपाईँको भनाई के छ ?
राजेश र मेरो सल्लाहले नै यो भएको हो। उहाँले प्रस्ताव राख्नुभयो। मैले स्विकृति दिएँ अनि यु-ट्युबमा राखिएको हो। एउटा राजेशले आफ्नो अकाउण्टमा राख्नुभयो अर्को बुढासुब्बा म्युजिकबाट मैले राखेको हुँ। सबै हाम्रो समझदारीमा भएको हो। मैले उहाँहरुसँग प्रेम भाईलाई अगाडी ल्याउन यसो गर्न लागेको भन्दा उहाँहरुले हुन्छ यो एकदम राम्रो कुरा हो भन्नुभा’को थियो। स्वरुप राज पनि प्रेम भाईले पहिचान पाओस् भन्ने चाहनुहुन्छ। संगीतलाई प्रेमको पनि योगदान होस् भन्ने स्वरुपले पनि चाहनुहुन्छ जस्तो मलाई लाग्छ।

७. ‘नाई नभन्नु ल-२’ले के बोल्छ ?
मानिसमा प्रेमभाव हुनुपर्छ, द्वेशभाव हुनुहुन्न भन्ने कुरा बोल्छ। त्यो सँगै एउटा Adrenoleukodystrophy (ALD) भन्ने रोग छ, त्यो रोग लगभग मानिसलाई थाहै छैन। यो लाखौँमा इक जनालाई मात्र लाग्छ। यो चलचित्रले त्यो रोगको बिषयमा पनि जानकारी दिने प्रयास गर्छ। समग्रतामा माया प्रेम सँगै दुखान्ततिर पनि चलचित्र गएको छ।

८. अन्त्यमा?
एउटा राम्रो चलचित्र बनेको छ। नेपाली चलचित्रका नयाँ प्रतिभाशाली व्यक्तित्वसँग काम गर्ने मौका पाएको छु। उहाँहरुको काम हेरेर उहाँहरुलाई स्याबासी दिनुस्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu