काठमाडौँ।
भदौ ८ गते रिलिज हुने नेपाली चलचित्र ‘जय हो’का पोस्टर काठमाडौँमा नटाँसिने भएको छ । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतले काठमाडौंको सुन्दरतालाई ध्यानमा राख्दै पोस्टर नटाँस्ने निर्णय गरेको बताए ।
आफूले पोस्टर नटाँस्ने जनाउँदै बस्नेतले अन्य सबै चलचित्रकर्मीलाई काठमाडौँ सफा राख्नको लागि पोस्टर नटाँस्न अनुरोध समेत गरे । यसअघि रिलिज भएको चलचित्र ‘बगान’ले पोस्टर टाँसेको भन्दै काठमाडौँ महानगरपालिकाले जरिवाना समेत गरेको थियो ।
‘जय हो’मा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको छ । यो चलचित्रलाई अष्ट्रेलिया निवासी सुरज ल्वागन (सरकार) र राज के अधिकारीले निर्माण गरेका हुन् । टेक पौरखी राईद्वारा निर्देशित यस चलचित्रमा केकी र सलोनका अलावा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । यसमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।
सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको सङ्गीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।