वि.सं. २०७० को चलचित्र चर्चा | १०१ मा ९५ फिल्म फ्लप



Writer: Bijay Ratna
Writer: Bijay Ratna

विजयरत्न तुलाधर। कुनै बेला निर्देशक शिव रेग्मीले निर्देशन गरेका सबैजसो चलचित्रहरु व्यावसायिक रुपमा सफल हुन्थे । त्यसैले उनलाई पारसमणि निर्देशक भनेर भन्नेहरु धेरै थिए । उनै पारसमणि निर्देशक स्व. शिव रेग्मीको अन्तिम चलचित्र “मनले मनलाई छुन्छ” र लेखक एवं निर्देशक विकास आचार्यको “नाईं नभन्नु ल २” को प्रदर्शन सँगसँगै यो वर्ष प्रदर्शित नेपाली चलचित्रको संख्या १०१ पुगेको छ । बितेको एक वर्षभित्र प्रदर्शित चलचित्रहरुमध्ये सर्वाधिक सफल साबित भएको चलचित्र “६ एकान ६” हो । यो बाहेक काली, होस्टेल, झोला र झोले पनि आफ्नो लगानी जोगाउन सफल चलचित्रहरु हुन् भने बाँकी ९५ वटा चलचित्रहरु व्यावसायिक रुपमा नराम्ररी पछाडि परेका छन् ।

नेपाल टेलिभिजनको लोकप्रिय हास्य टेलिश्रृंखला “तीतो सत्य”का सर्जकहरु दीपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माको संयुक्त लगानीमा निर्माण गरिएको “६ एकान ६” प्रदर्शन हुनुभन्दा अगाडि यो चलचित्रले यस्तो सफलता प्राप्त गर्ला भनेर कसैले सोचेका थिएनन् । साँच्चै भन्ने हो भने त्यसभन्दा अघिसम्म नेपाली चलचित्रको दिनानुदिन ओर्‍हालोतिर झर्दै गइरहेको अवस्था थियो । वर्षभरी प्रदर्शित चलचित्रहरु मध्ये युवा पुस्ताहरुको कथा बोकेको “होस्टेल” र मनोरञ्जनको परम्परागत शैलीमा निर्मित “काली” मात्रै केही हदसम्म सफल मानिएका चलचित्रहरु थिए । यी दुई चलचित्रहरुको सफलताले एकातिर अनमोल के.सी., सलोन बस्नेत र गौरव पहाडि जस्ता नयाँ पुस्ताका अभिनेताहरु नेपाली चलचित्रमा उदाउने संकेत देखिएको थियो भने “काली” को सफलताले रेखा थापा अझै पनि दर्शक बीच लोकप्रिय छिन् भनि पुष्टि गरिदिएको छ ।

यो वर्ष सफल मानिएका चलचित्रहरु मध्ये “६ एकान ६” जसरी अप्रत्याशित सफल साबित भयो त्योभन्दा पनि “झोला” को सफलताले सबैलाई चकित पारिदिएको छ । साहित्यिक कृतिहरुमा आधारित चलचित्रहरुले विगतमा न त दर्शक कै मन जित्न सकेको ईतिहास छ न त सम्बद्द साहित्यकारलाई नै सन्तुष्ट पार्न सकेको थियो । तर “झोला” यी दुवै कुरामा अपवाद साबित भईदिएको छ । यथार्थवादी धरातलमा रहेर निर्माण गरिएको “झोला” आजभन्दा सय वर्ष अगाडिसम्म प्रचलित सति प्रथामा आधारित चलचित्र हो । कृष्ण धरावासीको सोही शिर्षकको कथामा बनेको “झोला” नायिका गरिमा पन्तलाई नेपाली चलचित्र आकाशबाट विस्थापित भई सकेकी नायिकाको रुपमा लिइन्थ्यो । तर “झोला” मा उनले गरेको सजिव अभिनयले सबैको मन जित्न सफल भएको छ ।

jhola

अभिनेत्रीहरुको दृष्टिकोणले चर्चा गर्ने हो भने यो वर्ष रेखा थापा “काली” को कारण व्यावसायिक रुपमा सफल नायिकाको रुपमा अगाडि रहीन् । “झोला” को कारण गरिमा पन्त पुनः एक पटक चर्चाको विषय बनिन् । थ्री लभर्स, भिजिलाण्ते थ्री डी र कलिउड जस्ता चलचित्रहरुले कुनै प्रभाव पार्न नसकेपछि ओझेलमा परेपनि “झोले” मा गरेको सशक्त अभिनयको कारण प्रियंका कार्की पनि चर्चित नै भईन् । “६ एकान ६” को अत्याधिक सफलताले नीता ढुङ्गानाको ओर्‍हालो लाग्दै गरेको फिल्मी क्यारियरलाई सहारा पुगेको छ । अन्य नायिकाहरुमा रङ्गमञ्चमा खारिएकी दिया मास्केबाट गरेको आशा उनका “सुनगाभा” र “फिटकिरी” ले पुरा गर्न सकेन । निशा अधिकारी पनि उनको अभिनय र चलचित्रबाट भन्दा बढी सगरमाथा आरोहण र समाज सेवाको कारण मात्रै चर्चाको विषय बने । रेखा थापा पनि राउटे समुदायको उत्थान कार्य गर्ने हेतुले समाज सेवामा पदार्पण गरेर चर्चा बटुलिन् । उसो त कान्तिपुर वर्षका दस व्यक्तित्वका रुपमा शिर्ष स्थानमा रहनुले पनि उनलाई निकै ठूलो चर्चा दिलाए । आफैले निर्माण गरिरहेको “हिम्मतवाली”बाट निर्देशक श्याम भट्टराईलाई हटाएर निर्देशनको जिम्मेवारी आफैले सम्हालेको कारण पनि रेखा थापा चर्चामा आइन् ।

kaali

ऋचा घिमिरे विदेश पलायनको कारण चर्चामा रहे भने रेजिना उप्रेती विवाहको कारण चर्चामा रहे । नयाँ नायिकाहरु मध्ये आशिष्मा नकर्मि अहिलेकी सबैभन्दा व्यस्त नायिकाको रुपमा चर्चामा रहिन् । अन्य अभिनेत्रीहरु मध्ये नम्रता श्रेष्ठलाई सबैले प्रसंशा गर्ने गर्छन् । उनीबाट धेरै ठूलो अपेक्षा गर्ने गर्छन् । तर यो वर्ष उनको महत्वपूर्ण भुमिका रहेको “मौन” र “मेघा” दुबै चलचित्रले दर्शकको मनमा कुनै छाप छोड्न सकेन । संख्यात्मक रुपमा धेरै चलचित्र खेले पनि झरना थापाले ती चलचित्रहरुबाट कुनै चर्चा बटुल्न सकिनन् तर अब उनले पनि निर्देशनको जिम्मेवारी बोक्ने कुरा भने चर्चाको विषय बनेको छ । केकी अधिकारीको मुटु, महसूस, बितेका पल प्रदर्शित भए । सुमिना घिमिरेको डार्लिङ्ग, स्टार आयो । तर खासै प्रभाव पार्न सकेन । वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले लेखेको नृत्य नाटिका “चारुमति” को नाट्य रुपान्तरमा गरेको अभिनयको कारण केकी अधिकारी चर्चाको विषय बनिन् ।

hostel

अभिनेताहरुको कुरा गर्दा दयाहाङ्ग राई, सौगात मल्ल, अर्पण थापा लगायतका रङ्गमञ्चमा प्रभुत्व जमाएका कलाकारहरुको चलचित्र यात्राले यो वर्ष पनि कुनै फड्को मार्न सकेको देखिएन । प्रौढ उमेरमा प्रवेश गर्दै गरेका राजेश हमाल पनि चलचित्रको पर्दामा त्यति देखिन छाडे तर उनले अभिनय गरेको “कोर्टमार्शल” नाटक भने उनकै उपस्थितिको कारण चर्चित बन्यो । उनी आफ्नी स्वघोषित प्रेमिका र उनीसितको सम्भावित विवाहको कारण पनि चर्चामा आईरहे । नेपाली चलचित्रका सम्भावित सुपर स्टार मानिएका आर्यन सिग्देलको बहुप्रतिक्षित चलचित्रहरु दबाब, लोफर, महसूस, मधुमास मध्ये कुनै पनि चलचित्रले दर्शकको मन जित्न नसकेपछि उनी चलचित्र निर्माणतिर अगाडि बढेको कुरा चर्चामा रहृयो । उनले निर्माण गरेको “नोभेम्बर रेन” अहिले प्रदर्शनको संघारमा छ । “बिन्दास २” जस्तो निरर्थक चलचित्र समेत खेल्न भ्याएका जीवन लुईंटेललाई उनको “नाईं नभन्नु ल २” प्रति ठूलो आशा छ । तर यो चलचित्र अनुभव रेग्मी र सुज्ञानी अधिकारीको कारण नै बढी चर्चामा छ ।

Jhole

निर्देशकहरुमा कुनै बेलाका चर्चित मानिने निर्देशकहरु केही निर्देशकहरुमध्ये दयाराम दाहालको “दबाब”, शोभित बस्नेतको “जंजीर”, मदन घिमिरेको “बाउन्सर”, र “धडकनभित्र” अनि दीपक श्रेष्ठको “वीर” र “रंग वे” जस्ता चलचित्रहरु प्रदर्शित भए । तर कुनै छाप छोड्न सकेन । “६ एकान ६” को सफलताले दिनेश डि.सि. प्रतिको आश अझै दह्रो बनाइ दियो भने चलचित्र पत्रकारिताबाट चलचित्र निर्देशनतिर पाइला अघि बढाएका यादव भट्टराईलाई “झोला” को सफलताले चर्चाको शिखरमा पुर्‍याइदियो । यसै वर्ष लक्ष्मण सुबेदी “एउटा साथी” र सुब्रत आचार्य “अधकट्टी”को माध्यमबाट चलचित्र निर्देशनतिर लम्केका चलचित्र पत्रकारहरु हुन् । निर्देशक सबिर श्रेष्ठ “काली” को सफलता पछि “आधी बाटो” पनि प्रशंसा बटुल्न सफल भएको छ । बरु रङ्गमञ्चमा आफ्नो धाक जमाउन सफल भएका निर्देशक अनुप बरालको फिट्किरी, सुवर्ण थापाको सुनगाभा, मनोज पण्डितको वधशाला, आशिफ शाहको कर्कश, पिताम्बर पाण्डेको ढुवानी, सुदर्शन थापाको मधुमास, छिरिंग रितार शेर्पाको उमा, जोयस पाण्डेको साँघुरो, मनोज अधिकारीको ऋतु, प्रवीण श्रेष्ठको मोक्ष बाट धेरैले धेरै आश गरेका थिए । समीक्षकहरुबाट यी चलचित्रहरु प्रशंसित पनि भए । तर दर्शकबाट भने प्रसंशित हुन सकेनन् ।

cha-ekan-cha

यसरी यो वर्ष प्रदर्शित एक सय एक चलचित्रहरुको आधारमा चर्चा गर्दा अहिले नेपाली चलचित्र परिवर्तको संघारमा पुगेको प्रष्ट देखिन्छ अनि यो परिवर्तनको क्रममा थुप्रै नयाँ अनुहारहरु यो क्षेत्रमा स्थापित हुँदै गईरहेको देखिन्छ । अब वि.सं. २०७१ मा के कस्तो परिवर्तन र विकास हुने हो भन्ने कुरा समय बित्दै गएपछि प्रष्ट हुँदै जानेछ ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu