
काठमाडौँ।
रिलिज मिति एकहप्ता बाँकी रहँदा नेपाली चलचित्र ‘जय हो’को प्रचारलाई व्यापक पारिएको छ । अष्ट्रेलिया भ्रमण छोट्याएर नेपाल आएका अभिनेता सलोन बस्नेत पूर्णतया यो चलचित्रको प्रचारमा जुटिरहेका छन् ।
चलचित्रको टीम अहिले दैनिक जसो कुनै न कुनै कार्यक्रममा सहभागी भईरहेको छ । शुक्रवार यो टीम काठमाडौँको चुच्चेपाटीस्थित एक कलेजमा पुगेको थियो । करिब एक हजार विद्यार्थीमाझ मुख्य कलाकारहरू सलोन बस्नेत, केकी अधिकारी, प्रस्तुतकर्ता शोभित बस्नेत र निर्देशक टेक पौरखी राईले विद्यार्थीमाझ यो चलचित्रलाई लिएर अन्तरक्रिया गरेका हुन् ।
अभिनेता बस्नेतले आफ्नै स्वरमा रहेको सो चलचित्रको गीत ‘सपनाको वेडिङ्ग’ गाएर सुनाएका थिए । कलेजमा करिब एक घन्टा जय हो टीमले विद्यार्थीसँग विताएको थियो । केहि दिनदेखि ‘जय हो’को टीम विभिन्न कलेजहरूमा पुगिरहेको छ ।
सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको यस चलचित्रमा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।