सदस्यता शुद्धिकरण गर्दै कलाकार सङ्घ अध्यक्ष निरौला, कागजपत्र नपुगे खारेज हुने



काठमाडौँ।
नेपाल चलचित्र कलाकार सङ्घले सदस्यता शुद्धिकरण गर्ने भएको छ। शुक्रवार बसेको बैठकले सबै सदस्य कलाकारहरुको अनलाइन अभिलेखिकरण समेत गर्ने र मापदण्ड विपरित रहेका सबै सदस्यको सदस्यता खारेज गर्ने जनाएको छ।

सङ्घमा गैर कलाकार सदस्यहरु रहेको विवाद समय समयमा चर्किने गर्छ। बिशेष गरी चुनावको समयमा उम्मेदवारको स्वार्थपूर्तिको लागि अन्धाधुन्ध सदस्यता बाँढ्ने प्रचलनको कारण कलाकार भन्दा गैरकलाकारको संस्था बनेको आरोप खेपिरहेको सङ्घले बोल्ड निर्णय गरेको हो।

सङ्घका अध्यक्ष मोहन निरौलाले आफ्नो चुनावी एजेण्डामा पनि सदस्यता शुद्धिकरण रहेको जानकारी दिए। उनले भने, “मैले निर्वाचनमा सदस्यता व्यबस्थापन र शुद्धिकरणलाई बिशेष जोड दिएको थिएँ। सङ्घमा कलाकारको मात्र सदस्यता कायम गर्न सदस्य कलाकारहरुको अभिलेखिकरण गर्ने, त्यसलाई सबैले हेर्न मिल्ने गरी अनलाइनमा प्रकाशित गर्ने, कागजपत्र अपुग सदस्यलाई अवधि तोकेर पेश गर्न अनुरोध गर्ने र कागजपत्र पेश नगरे सदस्यताको अभिलेख हटाउने निर्णय गरेका छौँ। “

सदस्यता लिँदा कलाकारहरुको आवेदन फारमसँग संलग्न गर्नुपर्ने कागजपत्रमा करारपत्र वा अनुहार र चलचित्रको नाम देखिने गरी लिएको स्क्रिनशट, नागरिकताको प्रतिलिपि, फोटो लगायत पेश गर्नुपर्ने व्यबस्था छ। ठुलो सङ्ख्यामा सङ्घमा आवद्ध सदस्यहरुको कागजपत्र अपुग रहेको बुझिएको छ। सङ्घले छ महिनाको समयावधि तोकी इमेल वा प्रिण्टेड फर्म्याटमा कागजपत्र उपलब्ध गराउन सङ्घले आग्रह गरेको छ। सो समयमा पेश नभए सदस्यता खारेज गर्ने अध्यक्ष निरौलाले बताए।

साथै, सो बैठकले सङ्घको ३५ औं स्थापना दिवसको अवसरमा भदौ २३ गते विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ। नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भुमिका विषय अन्तरक्रिया कार्यक्रम लगायतका अन्य कार्यक्रम हुने सङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu