
काठमाडौँ।
करिअरको सुखद उडानमा रहेकी अभिनेत्री वर्षा राउत अभिनीत नयाँ चलचित्र ‘ऐँचो पैँचो’ आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । चलचित्र रिलिजको संघारमा रहँदा उनको रोल काटिएको चर्चा भने मिडियामा सुपरहिट भैरहेको छ । तर, यो कुरा अचानक कसरी फैलियो उनी स्वयम् अनविज्ञ छिन् । चलचित्रमा आफ्नो रोल काटिएको कुरा सत्य नभएको उनी दाबी गर्छिन् ।
चलचित्रमा रोट काटिएको विषयमा भैरहेको चर्चाबारे उनले यसै साता पत्रकारसँगको कुराकानीमा भनेकी छन्, ‘सुटिङ भैरहेको समयमा रोल काटिएको भए म प्रचारमा नै हिँड्दिनँ थिएँ । कृषा चौलागाईं (निर्देशक) दिदीले त केही दृश्य थप्नुपर्नेछ फेरि सुटिङ गरौंन भन्दा मैले नै अब नगरौं भनेकी थिएँ । न मैले रोल काटिएको छ भनेर कसैसँग भनेको छु । न त चित्त दुखाई कसैप्रति छ ।’
वर्षालाई चलचित्रमा रोल कम-बढीभन्दा पनि त्यो कति सशक्त छ भन्ने कुरा महत्त्वपूर्ण लाग्छ । ‘म रोल कति छ होइन, कति सशक्त छ त्यो हेर्छु । आजसम्म कुनै पनि चलचित्र म आफैले चलाएको भन्ने छैन । त्यसैले रोल २ मिनेटको नै किन नहोस्, त्यसले दर्शकमा कति प्रभाव पार्छ त्यो महत्त्वपूर्ण कुरा हो,’ वर्षा भन्छिन् । कुनै चलचित्रमा २ मिनेटको सिनमा पनि काम गर्न मन लाग्ने उनको अनुभव छ ।
वर्षाले ‘ऐँचो पैँचो’बाट आफूले बढी नै आशा राखेको बताएकी छन् । उनले भनेकी छन्, ‘हुन त मलाई हरेक चलचित्र महत्त्वपूर्ण लाग्छ । यो चलचित्रबाट चाहिँ मलाई अलि बढी नै आशा छ । केही राम्रो काम गरेको छु कि जस्तो महसुस भैरहेको छ ।’ ट्रेलरमा उनलाई विवाहित महिलाको रुपमा चित्रण गरिएको छ ।
ट्रेलरले चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेको बुझाउँछ । तर, निर्देशक कृषा चौलागाईं चलचित्र सामाजिक विषयवस्तुमा बनेको प्रष्ट पार्छिन् । ‘ट्रेलर र टिजरको ढाँचाले फिल्म पोलिटिकल ड्रामा भन्ने लागेको हुनसक्छ । तर, चलचित्र सामाजिक विषयमा बनेको छ । राजनीतिको अंश चाहिँ छ । किनकि, समाजमा राजनीतिको प्रभाव हुन्छ । त्यसलाई उतार्ने कोशिश मात्र हो,’ उनले भनेकी छन् ।


