
काठमाडौँ।
दिवङ्गत अभिनेता सारुक ताम्राकारको अन्तिम काम ‘माया’ शीर्षकमा म्युजिक भिडियो सार्वजनिक गरिएको छ। बिहिवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उनले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’का केही दृश्यलाई समेटेर तयार परिएको भिडियो सार्वजनिक गरिएको हो।
सो चलचित्रको निर्माण कम्पनि रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले सारुकको अन्तिम इच्छा चलचित्र नै सार्वजनिक गर्नुभएता पनि सो सम्भव नभएका कारण म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको जानकारी दिए ।
उनले भने, ‘हामीले चलचित्र पुरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो । उ नरहेता पनि उसको काम हामी माँझ रहिरहने छ।’
सो भभिडियोमा ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । सारुककी आमा रुकमणिले आफ्नो छोराले निकै मेहनतका साथ गरेको कामलाई म्युजिक भिडियोकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । सारुकका पिता सानु ताम्राकार अस्पतालमा रहेको कारण सो कर्यक्रममा उपस्थित रहेनन्।
चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन्। अभिनेता ताम्राकारले गत असार २१ गते आफ्नै रातोपुलस्थित निवासमा आत्महत्या गरेका थिए ।
गीत हेर्नुहोस्ः


