
काठमाडौँ।
गत असार २१ गते आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकारको निधन भएको छ । नेपाली चलचित्रका पुराना कलाकार समेत रहेका सानु दुई हप्तायता उपचारको क्रममा थिए ।
शनिवार दिउसो ३ बजे काठमाडौँको नर्भिक अस्पतालमा उनको निधन भएको हो । छोराको निधनपछि बिक्षिप्त बनेका ताम्राकारको मृगौलामा समस्या देखिएपछि आइसीयूमा उपचार भइरहेको थियो । जादूगर समेत रहेका उनि ७४ वर्षका थिए । उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराएँ, भूँइमान्छे, मेरी मामु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।
उनको आइतबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ । ताम्राकारको निधनले नेपाली चलचित्र क्षेत्र स्तब्ध बनेको छ ।


