
काठमाडौँ।
नेपाली सेलिब्रेटीहरुले हिमालमा अर्थात् हाई अल्टिच्युड ग्राउण्डमा फुटबलको मैत्रीपूर्ण खेल खेल्ने भएका छन् । बाईकर्स नेपाल र आन्ट फाउण्डेशनले सेलिब्रेटीहरुलाई मनाङको हाई अल्टिच्युडमा लगेर मैत्रीपूर्ण फुटबल खेल खेलाउन लागेको हो । आइतवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी आन्ट फाउण्डेशनले खेल कार्यक्रमबारे जानकारी दिएको छ ।
यही भाद्र २५ देखि २७ गतेसम्म मनाङ जिल्लाको तिमाङ, पिसाङ लगायतका स्थानमा रहेका फुटबल मैदानहरुमा सेलिब्रेटी टिमले अरु खेलाडीहरुसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । चलचित्र पर्यटन, हिमाली क्षेत्रमा सम्भावित छायाङ्कन स्थलको प्रचार, वातावरण पर्यावरण, पर्यावरणिय परिवर्तनका विविध पक्षलाई सकारात्मक रुपमा प्रचार गर्दै हिमाली जनावरहरुको संरक्षणका लागि भन्दै मैत्रीपूर्ण फुटबल खेल आयोजना हुन लागेको बताईएको छ ।
यस कार्यक्रमबाट स्थानीयलाई हिउँ चितुवा लगायतका वन्यजन्तुहरुको संरक्षण सहभागिताको लागि अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्यटन प्रवर्धनमा प्रोत्साहन हुने विश्वास आयोजकले लिएको छ । ‘कलाकार देशका गहना हुन्, यसो मतलब राष्ट्र र राष्ट्रियताका लागि हामी पनि आफ्नो भुमिकाबाट चुक्नु हुँदैन । हामीले मैत्रीपूर्ण खेलमा सहभागी हुँदा हामीली जनावरहरुको संरक्षण हुन्छ र वातावरण पर्यावरण वारे सूचना प्रवाह हुन्छ भने किन नगर्ने ?’, फाउण्डेशनका अध्यक्ष तथा अभिनेता प्रशान्त ताम्राकारले बताए । ताम्राकारले यसले राष्ट्रियताको भावना बढाउन र चलचित्र पर्यटनलाई बढावा दिन मद्दत गर्ने बताए ।
तीन दिनसम्म हुने खेलमा चार समूहबीच मैशीपूर्ण खेल हुनेछ । खेलमा राष्ट्रिय स्तरका कलाकारहरू तथा विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरु सहभागी हुने समूहलाई हिमालयन स्नो लेपर्ड नाम दिइएको छ भने स्थानीय खेलाडीहरुको ३ वटा समूहलाई कान्जिसरा याक, पिसाङ याक र मनाङ याक नाम दिइएको छ । उक्त समूहहरुमा स्थानीय खेलाडीसँगै क्षेत्रीय र राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहनेछ ।
प्रशान्त ताम्राकार, आँचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान, प्रशिक्षक हरि खड्का, खेलाडी अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सिता तामाङ, उपेन्द्रमान सिंह, मिस नेपाल वल्ड सूचा प्रधान, मिस्टर नेपाल समरपन कार्कि, मिस युनिभर्स नेपाल सोफिया भुजेललगायत रहनेछन् ।
खेलसँगै साँस्कृतिक कार्यक्रमको प्रदर्शन, हिमाल पारीको जिल्ला मनाङ सम्मको रमणिय यात्रा र विभिन्न उचाईमा रहेका फुटबलका खेल मैदानहरुको भ्रमण, चलचित्र छायाङ्कन गर्न उपयुक्त ठाउँहरुको अवलोकन, हिउँ चितुवा वासस्थानको भ्रमण विदेशी विज्ञ डा. जेफ मन्टी फेरिङसँग यात्रा र अन्तरक्रिया कार्यक्रमका थप आकर्षणहर हुने आयोजकले जनाएको छ ।


