नम्रताले भनिन्, “जस्टिज फर सारुक, निष्पक्ष छानविन होस्”



काठमाडौँ।
चलचित्र ‘ह्यासट्याग माया’ छायाङ्कनको बीचमा नै आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको बिषयलाई लिएर सोही चलचित्रकी अभिनेत्री नम्रता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो कुरा राखेकी छन् । ताम्राकार र श्रेष्ठबीच गहिरो प्रेम सम्बन्ध रहेको र सोही सम्बन्धको दरारका कारण ताम्राकारले आत्महत्या गरेको आरोप खेप्दै आएकी थिइन् । सोही बिषयलाई लिएर उनले फेसबुकमार्फत आफ्ना कुराहरू राखेकी छन् ।

सारुकका पिताको निधन भएपछि श्रेष्ठले आइतवार दुवै जनालाई श्रद्धाञ्जली दिएकी थिइन् । सो श्रद्धाञ्जलीलाई समेत नाटकीय भन्ने आरोप लागेपछि उनले यस बिषयमा पहिलोपटक बोलेकी हुन् । उनले सारुकलाई एक सम्भावना बोकेका सहयोगी र मिलनसार कलाकार रहेको र यो घटनाले अचम्मित तुल्याएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, “स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए । उनी सहयोगी भावना भएका मिलनसार व्यक्ति थिए । यो घटनाले हामीलाई अचम्मित तुल्याएको छ । यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दछु” ।

उनले यो घटना केही दिन पहिले भएतापनि अहिले आएर सामाजिक सञ्जालमा बोल्न बाध्य बनेको बताएकी छन् । “सामान्य अवस्थामा पनि म त्यतिसाह्रो मिडियामा आउने मान्छे होइन, तर हाल यो घटना पश्चात एकलौटी रुपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचारहरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाबले लाग्नु भएको थियो”, आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल गर्दै उनले लेखेकी छन्, “मेरो परिवार र हाम्रो कानुनी टीमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौँ । एक जना महिला भएकै कारण यतिधेरै सामाजिक आक्रमण भएको होला । किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ । मेरो मौनता लाइ कमजोरी नठान्न अपिल गर्दछु ।”

उनले आफु एक महिला मात्र नभएर एक कलाकार र नेपाली नागरिक भएको कारण यही देशमा बाँच्न पाउने नैसर्गिक अधिकार रहेको जनाउँदै देशमा कानून नमरेको बताएकी छन्, “यो कानुनी राज्य हो । झुटको खेती गर्नुहुने सबै दिग्गज महानुभावहरुलाई सत्यको बाटो हिड्न को लागी आग्रह गर्दछु ।” उनले समय अगाडी बोल्दा अनुसन्धानमा असर पर्ने भएका कारण प्रहरीलाई बयान दिएको तर बाहिर नखुलेको जनाएकी छन् । आफ्ना पुराना अन्तर्वार्ताहरूलाई तोडमोड गरी बाहिर ल्याएको कारण पनि पुनः सोही दोहोरिन सक्ने भएकोले यस बिषयमा मिडियाबाट पर रहेको उनको भनाई छ ।

श्रेष्ठले आत्महत्या जस्तो संवेदनशिल बिषयलाई ‘ग्लोरीफाई’ गर्नु उचित नरहेको बताएकी छन् । उनले केही मिडियाले चर्चा र भ्यूजको लागि तथ्यहिन समाचार प्रेषण गरेको आरोप लगाएकी छन्, “जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहिन समाचार प्रति म घोर भ्रर्त्सना गर्दछु । यो किसिमका तथ्यहिन समाचारप्रति सम्पूर्ण देश विदेशमा रहनु भएका मेरा आफन्तजन, प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहनुहुन हार्दिक अनुरोध गर्दछु ।”

उनले आफु मेन्टल हेल्थको समस्यालाई जितेको र त्यसको वकालत समेत गर्ने भएको कारण यस बिषयलाई अतिरञ्जित नबनाउने निर्णय गरेकोले चुप बसेको जनाएकी छन् । उनले देश नै छोडेर भागेको, कालो बोकाको बलि दिएर बुटी बाँधिदिएको जस्ता कुराहरूलाई फण्डा बनाईएको बताएकी छन् । उनले भनेकी छन्, “एक्काईसौँ शताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्तिसंगत हुन्छ होला ? यो देश लोकतन्त्रपछि धर्मनिरपेक्ष मुलुक हो । सबैलाई धर्म मान्ने स्वतन्त्रता छ । सबैले मनन गरौँ । पुजा गर्ने गुरुलाई समेत प्रहरी प्रशासनले पहिले नै बयान लिई सकेको छ । अनुसन्धानलाई प्रभाव पार्ने काम कोहि कसैबाट नगरौँ ।”

नेपाल प्रहरीलाई विश्वकै उत्कृष्ट पाँचमा पर्ने बताउँदै उनले यस घटनाको सत्यतथ्य दुधको दुध पानीको पानी हुने गरी अनुसन्धान हुने विश्वास लिएकी छन् । उनले भनेकी छन्, “‘कोही अपराधी नउम्कियोस्, निर्दोष नफसोस् । जस्टिस फर सारुक । निष्पक्ष छानबिन होस् । म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सहयोग रहनेछ ।”

उनले आफुले यो वक्तव्य केहि दिन पहिले नै लेखेर राखेको तर अहिले मात्र सार्वजनिक गरेको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu