
काठमाडौँ।
टिजर रिलिजसँगै चर्चा चुलिएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को गीत सार्वजनिक भएको छ । जनैपूर्णिमाको अवसर पारेर बिहिबार ‘दुई चुल्ठी बाटन’ शीर्षकको गीत सार्वजनिक गरिएको हो ।
यसपटकको दशैंमा प्रदर्शन हुने यस चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकारहरू विपिन कार्की, आँचल शर्मा र निश्चल खड्कालाई फिचर्ड गरिएको छ । आँचल र निश्चलले यही गीतको लागि मात्र यस चलचित्रमा काम गरेका छन् ।
आँचल र निश्चल पशुपति क्षेत्रमा गरिरहेको छायांकनको क्रममा भष्मे डनले आँचलसँग आफुले कल्पना गरेको रोमान्सलाई गीतमा समाबिष्ट गरिएको छ । गीतमा बि पाण्डेको शब्द रचना तथा सुवास भुषालको संगीत, मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । कोरियोग्राफर प्रविन सिंह हुन् ।
‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा यो चलचित्र निर्माण भएको छ ।
दीपेन्द्र के खनालको निर्देशनमा बनेको यसमा पिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि चलचित्रमा विशेष भुमिकामा देखिने बताईएको छ ।
गीत:


