
काठमाडौँ।
गत बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘ऐँचो पैँचो’लाई शनिवार दर्शकले साथ दिएको निर्माण पक्षले जनाएको छ । शनिवार सार्वजनिक विदाको दिन हुने र आम मानिसले चलचित्र हेर्ने धारणा बनाउने भएको कारण यस दिनको व्यापारलाई बिशेष रुपमा हेर्ने गरिन्छ । अन्य दिन ठिकठाक चलेको चलचित्र पनि शनिवार दर्शकको ओईरो लाग्न सक्छ । यसर्थ, शनिवारको व्यापार समाचार बन्ने गर्छ ।
निर्माण पक्षले ग्रस कलेक्सनको आँकडा भने दिएको छैन । बिहानैदेखि दर्शकको भिड लागेको उनिहरूले बताएका छन् । चलचित्रकी निर्देशक कृषा चौलागाईंले शनिबारका बिहानी शोमा ८० प्रतिशतदेखि शतप्रतिशतसम्म अकुपेन्सी रहेको जिकिर गरिन् । निर्देशकले कलाकारहरू स्वस्तिमा खड्का, बर्षा राउत, सुशिल सिटौला र राजाराम पौडेललाई लिएर सिभिल, छायाँ सेन्टर तथा बिग मुभिज लगायतका हलमा दर्शक प्रतिक्रिया लिएकी थिइन् ।

निर्देशक चौलागाईंले दर्शकको प्रतिक्रिया सकारात्मक आएको बताईन् । “हाम्रो चलचित्रले आक्रामक व्यापार गर्यो त भन्दिन तर जति दर्शकले हेर्नुभएको छ, सबै दर्शकले राम्रो प्रतिक्रिया दिनु भएको छ”, विक डेजमा पनि राम्रो व्यापार गर्ने अपेक्षा जाहेर गर्दै चौलागाईंले भनिन् ।
गत बिहिवार कलाकारद्वय मुकुन भुषाल र राजाराम पौडेलले अभिनय गरेका दुई चलचित्रहरू ‘ऐँचो पैँचो’ र ‘गणपति’ एकसाथ रिलिज भएका थिए । यसको कारण मुकुन र राजारामलाई अप्ठेरो स्थिति आईपरेको छ । स्वस्तिमा, बर्षा, सुशिल लगायतका कलाकारहरू ‘ऐँचो पैँचो’को लागि हलमा कुदिरहँदा मुकुन भने ‘गणपति’को लागि कुदिरहेका थिए । त्यस्तै, राजाराम भने ‘ऐँचो पैँचो’ टीमसँग थिए । ‘गणपति’ चलचित्र राम्रो रहेको प्रतिक्रियाका वावजुद अपेक्षित व्यापार गरेको छैन । यद्यपि शनिवार भने दर्शकले यस चलचित्रलाई साथ दिएका छन् ।


