
काठमाडौँ।
गत असार २१ गते आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारकी आमा रुकमणी ताम्राकारले छोराले चालेको कदमबारे छिटो छानबिन गर्न माग गरेकी छन् । माला अर्पण गरिएको दिवंगत सारुकको फोटो फेसबुकमा पोस्ट गर्दै उनले प्रहरी प्रशासनबाट अनुसन्धान कहाँ पुग्यो भन्ने खबर नआएकोले यथासक्य छानविनको माग गरेकी छन् ।
उनले लेखेकी छन्, “मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा मेरो श्रीमान पनि गुमाउँदा म माथि ठुलो बज्रपात परेको छ । यतिका दिनसम्म पनि पुलिस प्रशासन बाट छानविन कहाँसम्म पुग्यो भन्ने कुराको खबर नआउँदा म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु कि छोराको अन्तिम शूटिंगको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो ? यसको छानविन राम्रोसँग गरयोस् र पुलिसले फोन डिटेल्स प्रस्ट अगाडी ल्याउनुहुन अनुरोध गर्दछु ।”

रुकमणीका श्रीमान सानु ताम्राकारको उपचारको क्रममा ७४ वर्षको उमेरमा भाद्र ९ गते काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको थियो । छोराको निधनपछि बिक्षिप्त बनेका ताम्राकारको मृगौलामा समस्या देखिएपछि आइसीयूमा उपचार भइरहेको थियो ।


