काठमाडौँ।
केही समयदेखि एकसाथ रिलिज हुने कसरतमा रहेका दुई नेपाली चलचित्रहरू ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’का टिमबीच सहमति भएको छ । सहमतिसँगै अब यो दुई चलचित्र अलग अलग मितिमा प्रदर्शन हुनेछन् ।
दुबै चलचित्र पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै एक हप्ता अन्तरमा रिलिज गर्ने जनाईएको छ । ‘परदेशी २’ असोज २६ गते (घटस्थापनाको दुई दिन अगाडि) र ‘भष्मे डन’ कात्तिक ४ गते (फूलपाती)बाट प्रदर्शन हुने विज्ञप्तिमा उल्लेख छ ।
चार पटकको छलफलपछि ‘जुधेर होइन जुटेर सफलता हात पार्न सकिन्छ’ भन्ने कुराको पाठ नेपाली फिल्मका कतिपय जुधाईले सिकाइसकेको जनाउँदै जुधेर होइन जुटेर जाने निर्णय गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रसिद्ध गायक नारायण रायमाझीले निर्देशन गरेको ‘परदेशी २’मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, नीर शाह लगायतको अभिनय रहेको छ । दीपेन्द्र के. खनाल निर्देशित ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ ।
विज्ञप्ति:
Press-release-final