काठमाडौँ।
लामो समयको प्रतिक्षापश्चात निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘दिमाग खराब’को टिजर रिलिज भएको छ । टिजरमा आम सर्वसाधारण र राजनीति गर्ने बीचको ठेलमठेल महशुस गराईएको छ ।
‘लुट’ निर्देशक बस्नेतबाट दर्शकले बढि नै आश राखेका कारण यो चलचित्र उनको लागि अत्यन्त महत्वपूर्ण छ । यसर्थ पनि बस्नेतले टिजरलाई भरपुर समय लगाएर तयार पारेका छन् । उनले ‘लुट २’ निर्देशनको ६ वर्षपछि ‘दिमाग खराब’ निर्देशन गरेका हुन् ।
कार्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह लगायतको अभिनय रहेको छ ।
आकाश बरालले यो चलचित्र लेखेका हुन् । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माण गरेका छन् भने रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता हुन् । सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
टिजर हेर्नुहोस्:


