
काठमाडौँ।
‘एक भगवत् गीता’ नामलाई लिएर केही दिनदेखि विवादित बनिरहेको चलचित्रको विवाद समाधान भएको छ । आइतवार भएको छलफलपछि नाम परिमार्जन गरी ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राख्ने सहमति जुटेसँगै विवाद सकिएको हो । भदौ २९ गते रिलिज हुने यो चलचित्रले आइतवार नै सेन्सर सिफारिस प्राप्त गरेको छ ।
चलचित्र विकास बोर्डको हलमा भएको छलफलमा चलचित्रकर्मी, चलचित्रको टिम र हिन्दूवादी संस्थाका प्रतिनिधिहरु सहभागी थिए । आध्यात्मिक विकास समाज, हिन्दु जागरण नेपाल, विश्व हिन्दु युवा सङ्घ अन्तराष्ट्रिय समिति लगायतका हिन्दूवादी संस्थाहरूले चलचित्रको नाम परिवर्तनको माग राख्दै बोर्ड र सूचना मन्त्रालयमा निवेदन बुझाएका थिए ।

चलचित्र रिलिजपछि हुनसक्ने बिषम् परिस्थितीलाई मध्यनजर गरी दुई पक्षबीच भएको सहमतिमा बोर्ड अध्यक्ष भुवन केसीले खुशी व्यक्त गरे । उनले बोर्डले सेन्सर सिफारिस नरोकेको र रोक्न पनि नमिल्ने बताइ । उनले दुई पक्षबीच विवाद उत्पन्न भएपश्चात् अभिभावक संस्थाले आफ्नो भूमिका निर्वाह गरेको बताए । छलफलमा सहभागी हिन्दूवादी संगठनका प्रतिनिधिहरुले बोर्ड अध्यक्षको संयमता र धैर्यताले नै सहमतिको वातावरण बनेको भन्दै प्रशंसा गरेका थिए ।

छलफलमा निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार दीपकराज गिरी, निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने, निर्माता तथा निर्देशक कृषा चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।


