
काठमाडौँ।
नेपाली चलचित्र ‘गोर्खा वारियर’ले बेलायतमा प्रिमियर शो सम्पन्न गरेको छ । नेपाली चलचित्रले यसरी पहिलोपटक अन्तराष्ट्रिय भूमिमा भव्यताका साथ प्रिमियर गरेको हो । आफ्नो पहिलेदेखिको सपना साकार पार्दै प्रिमियर सम्पन्न गरेको निर्देशक मिलन चाम्सले बताएका छन् ।
हलिउड चलचित्रहरूको प्रिमियरको केन्द्र मानिने लिसेस्ट स्क्वायर लण्डनको आइम्याक्स सिनेवर्ल्डमा स्थानीय समय अनुसार आईतवार दिउँसो १२ बजेबाट बेलुका ५:३० बजेसम्म चलचित्रको प्रिमियर कार्यक्रमको आयोजना भएको थियो । रेकड कार्पेट र औपचारिक कार्यक्रम सहित आयोजना भएको सो प्रिमियरमा करिब ९ सय जनाको उपस्थिति रहेको निर्देशक चाम्सले बताए ।
बेलायतका प्रधानमन्त्री ऋषी सुनकले यो प्रिमियरको सफलताको लागि शुभकामना दिएका थिए । गोर्खा सैनिकले मलाय युद्धमा हासिल गरेको साहसिक सफलताको कथामा यो चलचित्र बनेको छ । प्रिमियरमा यसले प्रशंसा पाएको बताईएको छ । “मैले २० वर्ष अघि देखेको यो सपना ऐतिहासिक रुपमा आज यो प्रतिष्ठित स्थलमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम मैले सोचेको भन्दा धेरै सफल भएकोमा साह्रै खुसी छु”, निर्देशक चाम्सले बताए ।

प्रिमियरमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र अर्याल, शसस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरिक्षक तथा गीतकार शैलेन्द्र खनाल, हलिउडबाट मिसन ईम्पोसिवलका निर्माता टोमी ग्रोम्ली , हलिउडका पाईनहुड स्टूडियोका प्रमुख एन्डरु स्मिथ, अपरेशन म्यानेजर म्याट हाटकिन पनि विशेष अतिथिका रुपमा यो प्रिमियरमा सहभागी भएको निर्देशकले जनाए । नेपालबाट नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, समाजका महासचिव अरुण कुमार प्रधान, निर्माता तथा निर्देशक सन्तोष सेन, अभिनेता प्रेम पुरी, ओएसआर डिजिटलका अध्यक्ष ओम अग्रवाल, उद्घोषक नरेश भट्टराई, चलचित्र पत्रकार संघ नेपालकी उपाध्यक्ष सुरक्षा भट्टराई, महासचिव रघुनाथ सापकोटा, पत्रकारहरू अनुप भट्टराई, श्रृष्टी पोखरेल, विशाल राई लगायत लण्डन पुगेका थिए ।
यस चलचित्रका अभिनेता रितेश चाम्स, अभिनेत्री रेविका गुरुङ, संगीतकार एलिश कार्कीलगायतको प्रिमियरमा सहभागिता थियो । बेलायतमा स्थायी बसोबास गर्ने चलचित्र निर्देशकहरु डा. कपिल रिजाल, सनम कुमार बैराग, कलाकारहरू ध्रुव दत्त, मनिष कुमार श्रेष्ठसहित विभिन्न नेपाली चलचित्रकर्मी, सङ्गीतकर्मी र नेपाली तथा बेलायती मोडलहरुको सहभागिता थियो । साथै, ब्रिटिस गोर्खा सैनिकका विभिन्न अफिसर तथा बेलायतमा रहेका विभिन्न नेपाली संघ संस्था र कुटनीतिक नियोगका पदाधिकारीहरुको पनि उल्लेख्य उपस्थिति रहेको निर्देशक चाम्सले बताए ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा एकसाथ विश्वब्यापी प्रदर्शन हुने यो चलचित्र नेपालमा भने आगामी फागुनमा रिलिज गर्ने लक्ष्य राखिएको छ । चलचित्रमा विजय लामा, रितेश चाम्स, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फोटो ग्यालरी
फोटोः कुशल श्रेष्ठ


