काठमाडौँ।
यसै हप्ता रिलिज हुने नेपाली चलचित्र ‘एक भागवत र एक गीता’को ‘झिझिया’ बोलको गीत सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै मैथिली भाषामा रहेको उक्त गीत रिलिज गरिएको हो । यस गीतमा नेहा प्रियदर्शनी र प्रवेश मलिकको युगल स्वर रहेको छ भने गायक मलिकले नै सङ्गीत र शब्द सङ्कलन गरेका छन् ।
मैथिली समुदायको परम्परागत सांस्कृतिक गीतलाई नयाँ तरिकाले चलचित्रमा समावेश गरिएको निर्देशक झरना थापाले बताइन् । मैथिली समुदायमा दुर्गा पूजाको अवसरमा यो गीतमा नृत्य गर्ने प्रचलन छ । जनकपुरको जानकी मन्दिरको परिसरमा छायाङ्कन गरिएको गीतमा अभिनेत्री सुहाना थापाको नृत्य रहेको छ भने अभिनेता विपिन कार्की पनि गीतमा रहेका छन् ।
झरना थापा निर्देशित यस चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबिर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतको अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा रहेको परिच्छेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।
राजेश श्रेष्ठको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको सङ्गीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।
गीत हेर्नुहोस्ः




