काठमाडौँ।
अभिनेता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा लगायतको संयुक्त लगानीमा बनेको चलचित्र हल यही शुक्रवारदेखि सञ्चालनमा आउने भएको छ । शुक्रवार बिहानै काठमाडौँको नयाँ बानेश्वर चोकको बानेश्वर सेन्टर भवनमा रहेको सो हलको शुभारम्भ कार्यक्रम राखिएको छ ।
स्क्रिनप्ले सिनेमाले बनाएको हलमा आईएनआई सिनेमाजको व्यवस्थापन रहेको छ । हलको नाम पनि आईएनआई सिनेमाज, बानेश्वर सेन्टर राखिएको छ । शुक्रवार उद्घाटन भएसँगै औपचारिक रूपमा हल सञ्चालनमा आउनेछ । शुक्रवार पहिलो दिन दुई नेपाली र दुई विदेशी चलचित्रहरूको शो टाइम खुलाइएको छ । नेपाली चलचित्रहरू ‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’, हिन्दी चलचित्र ‘जवान’ र हलिउड चलचित्र ‘नन २’ प्रदर्शन हुनेछन् । उद्घाटन कार्यक्रममा भने दीपक–दीपाले आफ्नै पछिल्लो फिल्म ‘छक्कापञ्जा ४’ देखाउनेछन् ।
जम्मा दुई थिएटर रहेको हलमा ३८७ सिट क्षमता छ । करिब पाँच वर्षको पर्खाइपछि हल सञ्चालनमा आउन लागेको गिरीले बताए । उनले नेपाली चलचित्रलाई प्राथमिकतामा राख्ने जिकिर गरे ।