बाह्रखरी कथा लेखन प्रतियोगितामा कथा आह्वान, प्रथमलाई एक लाख पुरस्कार



काठमाडौँ।
पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान गरिएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको २०८० संस्करणको घोषणासँगै कथा आह्वान गरिएको हो ।

बाह्रखरी मिडियाले आयोजना गर्ने यो प्रतियोगिता नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठुलो पुरस्कार राशि मानिन्छ । प्रतियोगितामा सहभागी हुन असोज ३० गतेसम्म संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिनेछ । सहभागी हुने सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ । तीमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा, २०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिने बताइएको छ । सङ्ग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरिने कार्यक्रममा बत्ताइयो ।

आख्यान साहित्यको सशक्त विधा, कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बाह्रखरी मिडियाले जनाएको छ । कथा लेखन प्रतियोगिता–२०८० को निर्णायक समूहमा समीक्षक प्रा. डा. सावित्री कक्षपति, कथाकार महेशविक्रम शाह र लेखक सुविन भट्टराई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu