
काठमाडौँ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को मिति सरेको छ । यसअघि असोज ४, ५ र ६ गते हुने भनिएको महोत्सव अब मंसिर १५–१७ गते तदनुसार (१–३ डिसेम्बर २०२३) मा आयोजना हुने आयोजक रेड चेरी मिडिया प्रा.ली.ले जनाएको छ ।
महोत्सव निर्देशक चक्र बहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा तयारी पुरा नभएकोले महोत्सवको मिति धकेलिएको बताइएको छ । कर्णालीको कथा, जीवनशैली, भेष भूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्ने उदेश्यले पहिलो पटक कर्णालीमा चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।
स्थानीय कला र संस्कृति तथा चलचित्र पर्यटन प्रवर्धन गर्ने यो महोत्सव कर्णाली प्रदेश सरकार र चलचित्र विकास बोर्डको सहकार्यमा हुनेछ ।