९६औँ अस्कर अवार्डका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस



काठमाडौँ।
अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औँ संस्करणका लागि नेपालको चलचित्र ‘हल्कारा’ सिफारिस भएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटा निर्देशित सो चलचित्र सिफारिस गरेको हो ।

समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘हल्कारा’लाई सिफारिस गरेको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक चलचित्रकर्मीलाई २०८० असोज २९ गतेभित्र चलचित्र बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट चलचित्रहरू डाकिनी, हल्कारा, नीरफूल, बुलाकी र बगानले सहभागिताका लागि आवेदन दिएका थिए ।

समितिले प्राप्त चलचित्रमध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो सालको अस्कर अवार्ड मार्च १० का दिन आइतबार लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । नेपालमा राजु के.सी.को अध्यक्षतामा पाँच सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा मञ्जु कुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना, रीतिका भट्टराई सदस्य रहेका छन् ।

‘हल्कारा’ गत बैशाख २९ गते नेपालमा रिलिज भएको थियो । हाल युरोप तथा अमेरिकामा केही देशहरुमा प्रदर्शन भईरहेको छ ।

महेश त्रिपाठी र विनीता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र विनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

गत वर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘हल्कारा’ चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाइनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।

यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक रहेको छ भने प्रोडक्सन साउन्ड ज्योति रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यानेडियन हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu