रिलिजको चार दिनपछि कसरी बढे ‘एक भागवत र एक गीता’मा दर्शक ?



काठमाडौँ।
गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘एक भागवत र एक गीता’ले रिलिजको चार दिनपछि व्यापारमा तीव्रता देखायो । चलचित्र हलहरूमा दर्शकको उपस्थितिको आधारमा मूल्याङ्कन गर्दा दुःखद ओपनिङ देखाएको यो चलचित्रले हप्ताको मध्यमा आएर व्यापारमा तीव्रता लिएको थियो ।

रिलिज अगाडी नामको विषयलाई लिएर व्यापक झमेलामा परेको यो चलचित्रले रिलिजको केही दिनपछि तीव्रता दिनुमा चलचित्र हेरेका दर्शकले रुचाएको कारण रहेको वितरक गोविन्द शाहीले बताए । हामीसँग कुरा गर्दै शाहीले भने, “यो चलचित्र राम्रो भएकोले चल्नै पर्ने थियो । व्यापक माउथ पब्लिसिटीले काम गरेको छ । कलाकारहरूको अभिनय र यसका दृश्यहरूले दर्शकलाई मोहित बनाएको छ । कथा पनि केही फरक छ र भाषाको कारण पनि रुचाएका छन् जस्तो लागेको छ” । शाहीले प्रोडक्सन र निर्देशक झरना थापाको ब्रान्ड भ्यालुले पनि उत्तिकै काम गरेको बताए ।

चलचित्रले सुरुवात राम्रो नगरेपछि निर्देशक थापाले आफ्नो चाहना व्यापार मात्र नभई दर्शकलाई राम्रो चलचित्र दिने भएकोले ‘एक भागवत र एक गीता’ बनाएको बताएकी थिइन् । पछिल्लो समय टिकटकमा चलचित्रमा छोटा क्लिप्सहरु भाइरल भइरहेका छन् । टिकटकमा चलचित्रलाई लिएर व्यापक चासो राखिएको पाइएको छ ।

चलचित्रमा दर्शकको सङ्ख्या बढेपछि मल्टीप्लेक्सहरुले शो सङ्ख्यामा वृद्धि गरेका छन् । यो समाचार प्रकाशन हुँदा चलचित्र रिलिज भएको ६ दिन भएको छ । चलचित्रको गति यस्तै रह्यो भने आगामी हप्तामा यसको कलेक्सन व्यापक हुने देखिएको छ ।

झरना थापा निर्देशित यस चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबिर खड्का, जेविस र जेविन श्रेष्ठ, सन्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतको अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा रहेको परिच्छेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

राजेश श्रेष्ठको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको सङ्गीत तथा शङ्कर अधिकारी घायलको शब्द रचना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu