‘परदेशी २’को देशव्यापी प्रचारलाई तीव्रता



काठमाडौँ।
यही असोज २६ गते रिलिज हुने नेपाली चलचित्र ‘परदेशी २’ ले देशव्यापी प्रचारलाई तीव्रता दिने क्रममा काठमाडौँ उपत्यका बाहिर पुगेको छ । नारायण रायमाझी निर्देशित यो चलचित्रको टिम आफ्नो चलचित्रका लक्षित दर्शकलाई हलसम्म तान्ने प्रयास स्वरूप काठमाडौँका विभिन्न कलेजपछि अहिले चितवन पुगेको छ ।

यो चलचित्र युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित छ । स्वाभाविक रूपमा यसको लक्षित वर्ग कलेजका विद्यार्थीहरू हुन् । चलचित्रको टिमले पनि प्रचारका लागि कलेज नै रोजेको छ । चलचित्रको कथा बुझाउन नाटक समेत तयार गरिएको छ । त्यही नाटक लिएर काठमाडौँपछि चलचित्रको टिम यति बेला मोफसल दौडाहामा हिँडेको हो ।

बिहीबार र शुक्रवार नारायणगढका केही कलेजमा नाटक देखाउँदै निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीले त्यहाँका विद्यार्थीहरूलाई परिवारसहित चलचित्र हेर्न निम्तो दिए । अब बुटवल, नेपालगन्ज र पोखरामा यही शैली अपनाइनेछ । नाटकलाई विद्यार्थीहरूले रुचाएका छन् । नाटक हेर्दा विद्यार्थी भावुक भएको निर्देशक रायमाझीले बताए ।

चलचित्रका निर्देशक रायमाझीले ‘परदेशी र परदेशी २’को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुल फरक रहेको दाबी गरेका छन् । कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाइलाई दुरुस्तै कथामा उतारेको निर्देशक रायमाझीको भनाई छ । गीतसङ्गीतलाई चलचित्र जसरी छनक दिने गायक तथा सङ्गीतकार एवम् ‘परदेशी २’ बाट पहिलो पटक चलचित्रमा पाइला चालेका अभिनेता प्रकाश सपुतले कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रूपमा जोडिएको जानकारी दिए ।

अभिनेता प्रशान्त तामाङ अभिनीत २०७२ सालमा रिलिज भएको चलचित्र ‘परदेशी’ सुपर हिट भएको थियो । यस पटक पनि उनी चलचित्रमा विशेष भूमिकामा देखिने छन् । चलचित्रको कथा प्रकाश सपूतको वरिपरि घुमेको छ । यही चलचित्रबाट अभिनेताको रूपमा डेब्यू गरेका सपुत गायनमा स्थापित नाम हो । एकातिर यो चलचित्रलाई अघिल्लो शृङ्खलाको खास जोगाउनुपर्ने चुनौती छ भने अर्कोतिर प्रकाशलाई गायक हिरोको रूपमा सफल हुनुपर्ने चुनौती छ ।

नीर शाह, दिलीप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको चलचित्र नारायण रायमाझी र राजेश बंशलले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रमा गीतकार रमेश बिजीको कथा लेखन, मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।

दुई दिने नारायणगढ यात्रा सकेर ‘परदेशी २’ टिम भोली नेपालगन्ज पुग्दै छ । शनिवार त्यहाँका विभिन्न हल र कलेजको पुगेर चलचित्रको टिमले दर्शक भेटघाट तथा प्रचारका विभिन्न कार्यक्रममा सहभागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu