
काठमाडौँ।
निर्देशक दीपेन्द्र लामाले चलचित्र ‘नाङ्गो गाउँ-२’ घोषणा गरेका छन् । प्रदर्शनरत चलचित्र ‘नाङ्गो गाउँ’को सफलतापछि यसको सिक्वेल घोषणा गरिएको हो ।
निर्देशक लामाले सुरुमा नै यो चलचित्रको सिक्वेल बनाउने योजना रहेको बताएका छन् । सोसल मिडियाले लेख्दै लामाले अहिले टुङ्गिएको कथा मध्यान्तर नै रहेको बताएका छन् । उनले लेखेका छन्, “अहिले कथा जहाँ टुङ्गिन्छ, त्यो वास्तवमा कथाको मध्यान्तर थियो । लेख्दै जाँदा ५ घण्टाको फिल्म बन्ने देखिएपछि कथालाई दुई भागमा ब्रेक गरिएको हो । अब ‘नाङ्गो गाउँ-२’मा पासाङ पात्र गाउँ फर्केर जरी लामा विरुद्ध सङ्घर्ष गर्नेछ । र, आफ्नो हारको प्रतिशोध लिनेछ । दोस्रो भागको छायाङ्कन एक वर्षपछि हुनेछ ।”
लामाले त्यसअघि ‘नाङ्गो गाउँ’ टिमले एउटा कमेडी चलचित्र निर्माण गर्ने जनाएका छन् । सो चलचित्रको निर्देशन पनि आफैले गर्न लागेका लामाले त्यो आफ्नो ‘फुल फ्लेज्ड कमेडी’ जनराको पहिलो चलचित्र हुने बताएका छन् । उनले यस चलचित्रबारे थप जानकारी केही समयपछि सार्वजनिक गर्ने बताएका छन् ।
सिक्वेल चलचित्र ‘अ पोलिटिकल कमब्याक अर्थात् एक राजनीतिक पुनरागमन’ ट्याग लाइनसहित बन्नेछ । सिक्वेलमा दयाहाङ राईले निर्वाह गरेको पात्र ‘पासाङ’ केही समयपछि गाउँ फर्किने कथालाई समावेश गरिनेछ बताइएको छ ।