
काठमाडौँ।
असोज २६ गते एकसाथ तीन नेपाली चलचित्र रिलिज हुने भएका छन् । यस पटकको बडादसैँको घटस्थापनाको दुई दिन अगाडी रिलिज हुनको लागि दुई चलचित्रहरू ‘परदेशी २’ र ‘कौसीद’ले तयारी गरिरहेको समयमा अर्को चलचित्र ‘बासेन्जी’ थपिएको छ ।
बडादसैँको अवसरलाई चलचित्र रिलिजको लागि सुनौलो समय मानिन्छ । यो मितिमा चलचित्र रिलिज गर्न निर्माताहरूबिच ठुलै युद्ध चलिरहेको देखिन्छ । सो मितिमा भिडियो गेमको शैलीमा बनेको चलचित्र ‘बासेन्जी’ पनि आउने भएपछि त्रिपक्षीय रिलिज हुने भएको हो ।
अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशनमा गौरीशङ्कर इन्टरटेनमेन्टको ब्यानरबाट सुरज मैनालीले निर्माण गरेको ‘बासेन्जी’ हरर चलचित्र हो । निर्देशक क्लेमेन्टले यसअघि चलचित्र ‘म्याङ्गो पिक्कल’ निर्देशन गरेका थिए । ‘बासेन्जी’मा निर्देशक क्लेमेन्टसँगै चलचित्रमा सुरज मैनाली र गौरव बस्नेतको लेखन छ ।
राजीव मानन्धरको छायाङ्कन रहेको चलचित्रमा प्रवेशको भूमिकामा असीम निरौलाले अभिनय गरेका छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । त्यसै गरी मिथिला शर्मा, सरिता गिरी, अङ्कित खड्का, प्रवेश उप्रेती, निरु खड्का, प्रतीक दुलाल, सुदीपा पाठक, राज शर्मा, मोक्ष अधिकारी आदिको पनि चलचित्रमा अभिनय छ ।