काठमाडौँ।
बहुप्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’का अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता मल्ल टाउकोमा फेटा बाँधेर रिसाहा लुक्समा प्रस्तुत छन् ।

व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण गरिएको यस चलचित्रमा कलाकारहरूको जम्बो टोली रहेको छ । सौगात मल्लका अलावा विपिन कार्की, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा छन् ।
दीपेन्द्र के खनाल निर्देशित चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति सङ्घर्षको कथामा निर्माण गरिएको हो । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।
चलचित्रको विदेशका विभिन्न देशका सहरमा तीन हप्ता अगाडी नै अग्रिम टिकट बुकिङ समेत खुलिसकेका छन्, भने केही देशमा खुल्ने तयारी भइरहेको विदेश वितरक सेभेन सिजले जानकारी दिएको छ ।




