विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ



काठमाडौँ।
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । चलचित्र ‘रावायण’को निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवाल (चन्द्रकला कटुवाल)ले दिएको उजुरीको आधारमा केसी पक्राउ परेका हुन् ।

छलफलको लागि पटक पटक प्रहरीले बोलाउँदा नगएपछि शुक्रवार अदालतबाट अनुमति लिएर उपत्यका प्रहरी अपराध महाशाखाले केसीलाई पक्राउ गरेको हो । अहिले उनी मिनभवनस्थित प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

कटुवालले असोज ८ गते अनमोल विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । केसीमाथि प्रि प्रोडक्सनमा एक करोड १५ लाख खर्च भइसकेपछि अनमोलले काम गर्न अस्वीकार गरी विश्वासघात गरेको आरोप लगाइएको छ । ‘रावायण’मा काम गर्ने वचन दिएर अन्तिम समयमा धोका दिएको भन्दै उजुरी दिइएको थियो ।

सो चलचित्रमा काम गर्नको लागि अनमोलले अग्रिम पारिश्रमिकस्वरुप १० लाख रुपैयाँ लिएको बताइएको छ । यद्यपि अनमोलले ‘रावायण’मा काम गर्न औपचारिक सम्झौता नगरेको बताएका थिए । निर्देशक थापा यही असोज १३ गतेबाट छायाङ्कन सुरु गर्ने योजनामा थिए । चलचित्रमा नीति शाह, शिल्पा मास्के, निकिता चाण्डकलगायतका कलाकारले अभिनय गर्न तयार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu