काठमाडौँ।
चलचित्र ‘परदेशी २’ बाट चलचित्र अभिनेता बन्न लागेका गायक प्रकाश सपूतको गृह जिल्ला बागलुङमा सो चलचित्रको प्रिमियर गरिएको छ । स्थानीय दर्शकको उपस्थितमा भएको सो प्रिमियरको लागि काठमाडौँ चलचित्र युनिट र केही पत्रकार पुगेका थिए ।
निर्देशक नारायण रायमाझी, कलाकारहरू प्रकाश र केकी अधिकारी प्रिमियरमा सहभागी भए । बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङमा चलचित्रको प्रिमियर आयोजना हुनुले नगरको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै उनले बागलुङ नगरलाई चलचित्र छायाङ्कनको गन्तव्य स्थल बनाउन नगरपालिकाले काम गर्ने बताए ।
आफूले अभिनय गरेको पहिलो चलचित्र गृह जिल्लामा पहिलो प्रदर्शन गर्न पाउँदा निकै खुसी लागेको सपूतले बताए । सपूतले भने, “डेब्यू चलचित्रको पहिलो दर्शक नै गृह जिल्लावासी हुँदा आफूलाई भाग्यमानी ठानेको छु । आफ्नो पहिलो प्रयासलाई पहिलो दर्शकको रूपमा जिल्लावासीलाई हेर्न अवसर जुराइदिनु भएकोमा निर्देशक नारायण रायमाझी र निर्माता राजेश वंशलप्रति आभारी छु ।”
यो चलचित्र आगामी असोज २६ गतेबाट नेपालसहित विदेशका विभिन्न ठाउँमा रिलिज हुँदैछ । चलचित्रमा प्रकाश र केकीका अलावा नीर शाह, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्की लगायतको अभिनय छ ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानी रहेको चलचित्रमा गीतकार तथा सङ्गीतकार रमेश बिजीको कथा लेखन छ । चलचित्रले उच्च शिक्षाका लागि बिदेसिन बाध्य विद्यार्थीको कथालाई प्रस्तुत गरेको छ । २०१५ मा प्रदर्शन आएको परदेशी पनि वैदेशिक रोजगारीको कथामा आधारित थियो । त्यस बेला यो चलचित्र बक्स अफिसमा सुपरहिट भएको थियो ।
मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । चलचित्रलाई डिसिएन र एफडी कम्पनीले वितरण गर्दैछन् ।