
काठमाडौँ।
नेपाली चलचित्रको उमेर ६ दशक नजिक पुगेको छ । ५८ वर्ष अघि आजकै दिन अर्थात् वि.सं. २०२२ असोज १५ गते पहिलो नेपाली चलचित्र ‘आमा’ सार्वजनिक प्रदर्शनमा आएसँगै सो चलचित्र नेपालमा बनेको पहिलो नेपाली चलचित्र बनेको थियो । यो चलचित्रको प्रदर्शन मिति असोज २२ भनिने गरिएता पनि चलचित्र विकास बोर्डले प्रथम प्रदर्शन मिति १५ गतेलाई राखेको छ ।
५७ वर्षपछि गत वर्ष मात्रै राज्यद्वारा ‘आमा’लाई पहिलो नेपाली चलचित्रको मान्यता दिइएको हो । त्यसअघि ‘सत्य हरिश्चन्द्र’ र ‘आमा’ मध्ये कुन चलचित्रलाई पहिलो नेपाली चलचित्र मान्ने भन्ने विषय विवादास्पद थियो । नेपालमा प्रदर्शन भएको मितिले ‘सत्य हरिश्चन्द्र’ पहिले रिलिज भएता पनि सो चलचित्र नेपालमा नबनेको हुँदा ‘आमा’लाई पहिलो चलचित्र मानिएको थियो । ‘सत्य हरिश्चन्द्र’ २००६ सालमा रिलिज भएको थियो ।
हीरासिंह खत्रीले निर्देशन गरेको ‘आमा’ नेपालमा छायाङ्कन भई प्राविधिक काम भने भारतमा भएको थियो । श्रोत र साधन नेपालमा नभएका कारण प्राविधिक पक्ष भारतमा सम्पन्न भएको थियो । तत्कालीन श्री ५ को सरकार प्रसार विभागले निर्माण गरेको सो चलचित्रमा भुवन थापा चन्द, चैत्यदेवी, वसुन्धरा भुसाल र शिवशङ्कर मानन्धरले प्रमुख अभिनय गरेका छन् ।
तत्कालीन राजा महेन्द्रको आग्रहमा खत्रीले पञ्चायती व्यवस्थाको प्रवर्द्धनका लागि यो चलचित्र बनाएको जानकारहरू बताउँछन् । यो चलचित्रको छायाङ्कन चार महिना लगाएर गरिएको थियो भने पोस्ट–प्रोडक्सनको काम भारतको कोलकातामा ६ महिनामा पूरा भएको थियो ।
चलचित्र विकास बोर्डले ‘आमा’लाई डिजिटाइजेसन गरी संरक्षण गरेको छ । संरक्षणकर्ता तथा बोर्डका अधिकृत चिरञ्जीवी गुरागाईँले आधुनिक प्रोजेक्सन अनुसार जहिले पनि हेर्न सकिने गरी गुणस्तर वृद्धि गरी डिजिटाइजेसन गरेको बताए ।


