काठमाडौँ।
निश्चल बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘दिमाग खराब’को ‘झम्के झमा झम’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।
गीतमा बाबुल गिरीको शब्द तथा सङ्गीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर रहेको छ । यस गीतलाई चलचित्रको प्रचारको लागि बनाएको निर्देशक बस्नेतले बताए । उनले चलचित्रमा समावेश गर्ने या नगर्ने भन्ने बारेमा भने सल्लाह भइरहेको बताए ।
यस गीतमा निर्देशक आफैँले नृत्य गरेका छन् । उनको साथमा प्रमुख कलाकारहरू दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराललगायतले नृत्य गरेका छन् । यसमा अभिनेत्री सुपुष्पा भट्टको पनि नृत्य रहेको छ । भट्टले आफू चलचित्रमा नरहेको बताइन् । यो चलचित्रका निर्माता सुपुष्पाका पति रौनक विक्रम कँडेल हुन् । सुरज बम ठकुरी कार्यकारी निर्माता हुन् ।
चलचित्रमा सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको पनि अभिनय रहेको छ । आकाश बरालको लेखन रहेको छ भने मनोज पण्डितले स्क्रिप्ट डाक्टरको काम गरेका छन् ।
निर्देशक बस्नेतले राजनीतिबाट समाज अछुतो रहन नसक्ने बताउँदै ‘दिमाग खराब’लाई ‘सोसल ड्रामा’ भनेका छन् । उनले आफ्नो पहिलो चलचित्रले पनि राजनीतिक अस्थिरताले निम्त्याएको घटनामा आधारित रहेर बनाएको बताउँदै ‘दिमाग खराब’ रमाइलो हिसाबले साना साना सपना पालेको सामान्य युवाको कथामा बनाएको बताए ।
चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । यो चलचित्र आगामी कार्तिक २४ गते रिलिज हुँदैछ ।
गीत हेर्नुहोस्:


