ग्राउन्ड जिरो प्रचारमा ‘भष्मे डन’को बस अभियान



काठमाडौँ।
काठमाडौँ महानगरपालिका भित्र कुनै पनि स्थानमा प्रचार सामाग्री टाँस्न पाइँदैन । केही समय अघि रिलिज भएको चलचित्र ‘बगान’ले पोस्टर टाँसेकै कारण पचास हजार रुपैयाँ जरिवाना तिर्नुपरेको थियो । लुकीछिपी पोस्टर टाँस्ने चलचित्रकर्मीहरू पनि सो घटनापछि सचेत भएका छन् ।

यसैबिच, महानगरपालिकाको सो नियमलाई समर्थन गर्दै आगामी कार्तिक ४ गते रिलिज हुने नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिमले काठमाडौँ महानगरपालिका भएर चल्ने करिब १ सय बढी सार्वजनिक यातायातमा पोस्टर राखेर चलचित्रको प्रचार सुरु गरेको छ । चलचित्रको प्रचार वास्तविक दर्शकसम्म पुगोस् भन्ने उद्देश्यले निर्माण टिमले ग्राउन्ड जिरो प्रचारमा जुटेको जनाएको छ ।

सार्वजनिक यातायातको प्रचार सडकको भित्तामा टाँसिने पोस्टर प्रचारभन्दा बढी खर्चिलो भएको निर्देशक दीपेन्द्र के खनालले बताए । निर्माता तथा लेखक खगेन्द्र लामिछानेले खर्चिलो भए पनि बस पब्लिसिटी अभियान प्रभावकारी हुने विश्वास लिएको बताए । 

दीपेन्द्र के खनाल निर्देशित चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति सङ्घर्षको कथामा निर्माण गरिएको हो ।

चलचित्रमा सौगात मल्लका अलावा विपिन कार्की, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण गरिएको हो । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेन सिजले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu