
काठमाडौँ।
सङ्गीतकार दीपक शर्माले आफूद्वारा सङ्गीतबद्ध युट्युबमा एक करोड भन्दा बढी भ्युज प्राप्त गरेका ११ वटा लोक आधुनिक गीतहरूको सङ्ग्रह सार्वजनिक गरेका छन् । शुक्रवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सङ्गीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षत्री लगायतको उपस्थितिमा ‘दीपक शर्माका सङ्गीतबद्ध करोड क्लबका लोक आधुनिक गीतहरू’ सङ्ग्रह सार्वजनिक गरिएको हो ।
दश करोड पटक हेरिएको आधुनिक गीत ‘पिरिम नलाउने’ सहित ‘छैन मलाई पिर’, ‘छुट्टिएर तिमीसँग’, ‘पछिपछि लागेर’, ‘बालखैमा दिल बस्यो’, ‘ए है माया’, ‘अर्को जुनी खै कुन्नि’ ‘फुल फूलेको बन’ ‘ओकल दोकल’ ‘सिल्की कपाल’ र’आयौ चेली’ गीत सो सङ्ग्रहमा रहेका छन् ।
गायक रामकृष्ण ढकालले अहिलेको पुस्ताका सङ्गीतकारमा सबै गीतहरू हिट बनाउने नायकको रूपमा सङ्गीतकार दीपक शर्मा परिचित रहेको बताए । लोकलयमा आधारित रहेर गीतसङ्गीत सृजना गर्ने भएकाले पनि दीपक द्वारा सङ्गीतबद्ध सबै गीतहरू लोकप्रिय हुनुका साथै करोड क्लबमा पुग्ने गरेको उनको भनाई थियो । यस्तै गीतकार डब्बु क्षत्रीले बजारमा दीपक शर्माको गीत आउनासाथ दर्शकले औधी मन पराउने बताए । नेपालमा सबैभन्दा बढी युट्युबमा करोड भ्युज कमाउने सङ्गीतकारमा दीपक शर्मा नै पहिलो स्थानमा रहेको पनि गीतकार क्षत्रीले जिकिर गरे ।
यी बाहेक चलचित्रका ६ वटा र अन्य ४ वटा गरेर अरू १० वटा गीतहरूले पनि युट्युबमा एक करोड भन्दा बढी भ्युज पाएको पनि सङ्गीतकार दीपक शर्माले कार्यक्रममा जानकारी गराए ।