
काठमाडौँ।
यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘परदेशी २’को टिम भक्तपुरको चाँगुनारायण ताथलीमा जारी श्रीमद्भागवत महायज्ञमा पुगेका छन् । निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी र वर्षा सिवाकोटीले महायज्ञमा नै झन्डै १५ सय भक्तजनबिच चलचित्रको प्रचारप्रसार गरेका हुन् ।
सो अवसरमा निर्देशक एवं कलाकारहरूलाई बाजागाजा र फूल मालाले भव्य स्वागत एवं सम्मान गरिएको थियो । ‘परदेशी २’ हेर्न अपिल गर्दै निर्देशक रायमाझीले सुरुवातमा भक्तजनमाझ भजन प्रस्तुत गरेका थिए । अभिनेता सपूतले चर्चित गीतहरू प्रस्तुत गर्दा भक्तजनले तालीले स्वागत गरे । अभिनेत्रीहरू केकी र वर्षाले दसैँको माहौलमा मन छुने चलचित्र आउँदै गरेको बताउँदै सबैलाई मन पर्ने विश्वास दिलाए ।
चलचित्र प्रचारका लागि निर्माण टिमले देशका विभिन्न ठुला सहरमा पहिलो चरणको भ्रमण सकेर काठमाडौँ फर्किएको छ । निर्माण टिमले यति बेला एकातर्फ काठमाडौँका विभिन्न कलेजमा गीति नाटकमार्फत चलचित्रको प्रचारप्रसार गरिरहेको छ । अर्कोतर्फ, चलचित्रका कलाकार विभिन्न कार्यक्रमहरूमा समेत पुगेर ‘परदेशी २’हेर्न दर्शकलाई अपिल गरिरहेका छन् ।
बडादसैँको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’मा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ ।
रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि बिदेसिने युवा र सन्तान बिदेसिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रूपमा चलचित्रको निर्माण गरेका हुन् । ८ वर्षअगाडि प्रदर्शनमा आएको यसको अघिल्लो शृङ्खला ‘परदेशी’ले बक्स अफिसमा सुपरहिट व्यापार गरेको थियो ।


