
काठमाडौँ।
छायाङ्कन अगावै नेपाली चलचित्र ‘महाजात्रा’को सबै अन्तर्राष्ट्रिय अधिकार बिक्री भएको छ । ‘जात्रा’ शृङ्खलाको निर्माणाधीन ‘महाजात्रा’लाई एमएसएम इन्टरटेन्मेन्ट अन्तर्राष्ट्रिय बजारमा वितरण गर्न लागेको हो ।
सो कम्पनीका सञ्चालक छत्र थापाले ‘जात्रा’ शृङ्खला प्रति दर्शकमा रहेको विश्वासका कारण वितरण अधिकार सुरुमै किनेको जनाए । “जात्राका दुवै शृङ्खलाले दर्शकको मन जितेको छ । अन्य चलचित्रको प्रदर्शनीको समयमा समेत जात्राको आगामी शृङ्खला कहिले आउँछ ? भन्ने जिज्ञासा सुनिन्छ । त्यहीँ कारणले पनि मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाए । उहाँहरूले निर्माण तय गरेर लेखनकै क्रममा हुँदा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेँ” वितरक थापाले भनेका छन् ।
उनले जापान, हङकङ, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अस्ट्रेलिया, युरोपमा चलचित्र नेपालकै मिति चैत्र ९ मा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिए ।
आपतकालिन आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कासँगै हरिवंश आचार्यको समेत चलचित्रमा अभिनय रहनेछ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुन् । यसको छायाङ्कन दसैँ लगत्तै सुरु हुने बताइएको छ ।


