काठमाडौँ।
चलचित्र ‘प्रसाद २’ को विवादलाई लिएर पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल रिहा भएका छन्। अग्रवाल निकट श्रोतका अनुसार उनलाई आइतबार साँझ जिम्मा जमानीमा प्रहरीले रिहा गरेको छ।
सो चलचित्रका निर्माताहरु सुदर्शन बस्नेत र ज्याक श्रेष्ठको उजुरीमा अग्रवाललाई शुक्रवार सिंहदरबार वृत्तले पक्राउ गरेर बौद्ध प्रहरीलाई बुझाएको थियो। सुरुमा चलचित्र निर्माण गर्ने कम्पनी सुभाष थापा प्रोडक्सन प्रालिका सुभाष थापा र ओसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालिका अध्यक्ष ओमप्रकाश अग्रवालबिच डिजिटल राइट्ससम्बन्धी एक करार सम्झौता भएको थियो ।

त्यसमा चलचित्रको हल प्रदर्शन र च्यारिटी शोबाहेको सम्पूर्ण डिजिटल र अन्य प्रविधिबाट हुने प्रदर्शन अधिकार ओएसआरको हुने गरी रु. ३२ लाख ५० हजार रुपैयाँमा सम्झौता भएको थियो।
त्यसको केही समयपछि केशव पाण्डे निर्माताको रूपमा आए तर उनी छायाङ्कन अगावै निस्किए। त्यसपछि सुभाषले सुदर्शन बस्नेतलाई नयाँ निर्माताको रूपमा ल्याएका थिए। बस्नेतको प्रवेशपछि पुरानो हिसाबकिताब गडबडी भएको थियो। जसमा डिजिटल राइट्ससम्बन्धी सम्झौता पनि थियो। सोही विषयमा कुरा नमिल्दा बस्नेतले अग्रवालविरुद्ध उजुरी दिएका थिए।
यही विवादमा सो चलचित्रका निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनीहरु पक्राउ भने परेका छैनन्।


