
काठमाडौँ।
चलचित्र ‘परदेशी २’का निर्देशक नारायण रायमाझीले चलचित्रमा वैदेशिक रोजगारीको कथा कहिल्यै पुरानो नहुने बताएका छन् । सोही कथामा यो चलचित्र बनाएका रायमाझीले चलचित्रले दर्शकहरूको भावनालाई जोड्न सक्नेमा विश्वास व्यक्त गरे ।
यही हप्ता प्रदर्शनमा आउने यो चलचित्र केही वर्ष पहिले नै लेखिएको थियो भने कोभिड -१९ को महामारी अगाडी नै चलचित्र बनाइएको थियो । निर्देशक रायमाझीले जुन बेला ‘परदेशी २’को कथा लेख्न थालिएको थियो, त्यो अहिले झन् सान्दर्भिक हुँदै गइरहेको बताए । “परदेशीको कथा कहिल्यै पुरानो नहुने रहेछ । मैले सङ्गीत क्षेत्रमा करिअर सुरु गर्दा पनि परदेशीका कथाहरू यस्तै नै थिए । अहिले पनि त्यस्तै छ । मात्र त्यसको रूप फेरिएको छ । कुनै बेला नेपालीहरू इन्डिया र बेलायतमा फौजीमा जान्थे । उनीहरूलाई लाहुरे भन्ने गरिन्थ्यो । त्यसपछि खाडी मुलुकमा रोजगारीका लागि जानेहरू बढे । अहिले उच्च शिक्षाका लागि जानेहरूको लर्को छ”, उनले बताए ।
यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’निर्देशन गरेका रायमाझीले पहिलेका चलचित्र जस्तै सफल हुने विश्वास रहेको बताए ।


