
काठमाडौँ।
करिब ८ वर्षअघि सुपर हिट बनी ५१औँ दिन मनाएको नेपाली चलचित्र ‘परदेशी’को दोस्रो भाग ‘परदेशी २’ रिलिजको सङ्घारमा आएको छ । यही शुक्रवार रिलिज हुने यो चलचित्रले देशव्यापी गजबको हाइप बनाउन सफल रहेको छ । जस कारण चलचित्र हलहरूले उल्लेख्य शो हरू उपलब्ध गराएका छन् ।
चलचित्र हल व्यवसायीहरूले यो चलचित्रलाई हिट चलचित्र साबित हुने आशा राखेका छन् । नेपालको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र देशभर यो चलचित्रलाई ३६ शो उपलब्ध गराएको छ । अर्को मल्टीप्लेक्स चेन आइएनआईले पनि आफ्नो तीन वटा स्टेसनमा १२ शो उपलब्ध गराएको छ । अन्य मल्टीप्लेक्सहरुमा पनि यसले राम्रो समय र सङ्ख्यामा शो उपलब्ध गराएका छन् । केही हलहरूमा भने शो सङ्ख्या आउने क्रम जारी छ ।
नारायण रायमाझीद्वारा निर्देशित ‘परदेशी २’मा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ । रमेश बिजीले कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि बिदेसिने युवा र सन्तान बिदेसिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रूपमा चलचित्रको निर्माण गरेका हुन् ।


