शिक्षकले घुस खाएको दृश्यमा सेन्सरको कैँची, साँझ मात्रै ‘कौसीद’ रिलिज हुने



काठमाडौँ।
शिक्षकले घुस खाएको दृश्यमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले आपत्ति जनाएपछि आजै रिलिज भएको चलचित्र ‘कौसीद’को प्रदर्शन रोकिएको छ । समितिले केही दृश्य हटाई पुनः सेन्सरको लागि लैजान भनेको थियो । सोही अनुरूप पाँच मिनेट दृश्य काटेर लगेपछि सेन्सर पास भएको समितिका सदस्य ऋषिराज आचार्यले बताए ।

कैँची चलाउनुपर्ने बाध्यताको विषयमा आचार्यले कुनै संस्थामा कार्यरत सबैले घुस खाएको भन्ने सन्देश दिने खालको दृश्यले खराब सन्देश दिने देखिएकोले हटाउन लगाइएको बताए । उनले भने, “कोही व्यक्तिको आचरण खराब हुन सक्छ तर पुरै संस्था नै खराब हुँदैन । कदाचित पुरै संस्थाका व्यक्तिहरू नै खराब रहेछन् भने पनि त्यसको नतिजा राम्रो हुँदैन । चलचित्रमा सबै घुस्याहा देखाइएको र घुस खाएको कारण कुनै कारबाही भएको दृश्यहरू छैनन् । सबै खराब छन्, सबैले घुस खाएका छन्, तर सबै राम्रो भइरहेको छ भन्ने सन्देश देखिएकोले भ्रष्टाचारलाई प्रोत्साहन गर्नुहुँदैन भन्ने उद्देश्यले दृश्य काटिएको हो ।”

बिहान र दिउसो चलचित्र रिलिज नभएपछि हलले टिकट काटेका दर्शकलाई शुल्क फिर्ता गरेका छन् । ऋचा शर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका रहेको यस चलचित्रका निर्देशक कुमार भास्कर हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu