
काठमाडौँ।
नेपाली चलचित्रको व्यापारमा विभिन्न चाडपर्वहरू र बिदाको दिनलाई विशेष महत्वका साथ हेरिन्छ । यसैबिच बडादसैँको अवसरमा शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘परदेशी २’ शनिवार उत्साहजनक व्यापार गरेको छ । शनिवार दर्शकको उल्लेखनीय उपस्थितिका साथ काठमाडौँ उपत्यकासहित देशभरका धेरै हलमा यो चलचित्र हेर्न दर्शकको चाप देखियो ।
चलचित्र हेरेका दर्शकले हाम्रो हरेक घरको कथालाई चलचित्रमा प्रस्तुत गरेकोमा प्रशंसा गरेका छन् । प्रतिक्रिया मिश्रित रहेता पनि अधिकांश दर्शक चलचित्र हेरेर निस्किँदा भावुक देखिएका थिए । पारिवारिक चलचित्र बनाउने निर्देशक नारायण रायमाझीको छविका कारण सुरुवातदेखि नै यो चलचित्र हेर्न परिवार सहित हल पुग्नेहरू पनि देखिएका छन् ।

शुक्रवार ठिकठाक व्यापार गरेको चलचित्रले शनिवार भने उल्लेख्य सुधार गर्दै व्यापारमा उत्साह छाएको निर्माताले बताएका छन् । आइतबार घटस्थापनाको बिदा रहेको कारण व्यापार शनिवार भन्दा धेरै हुने आकलन गरिएको छ ।
निर्माता तथा निर्देशक रायमाझीले दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित रहेको बताए । उनले भने, “शनिवार बुटवल, पोखरा, नेपालगन्ज, चितवनसहित काठमाडौँका हलमा हाउस फुल दर्शक पायौँ । हेरिसकेका दर्शकको मौखिक प्रचारले एकदमै राम्रो हुने विश्वास लिएका छौँ ।” निर्देशक रायमाझी, अभिनेता प्रकाश सपुतसँगै अभिनेत्रीहरू केकी अधिकारी र वर्षा सिवाकोटी काठमाडौँका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।

यस चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपर हिट चलचित्रहरू दिएका थिए ।


