
काठमाडौँ।
छायाङ्कन अगावै अभिनेता अनमोल केसीको चलचित्र ‘फर्की फर्की’को प्रदर्शन मिति तोकिएको छ । यो चलचित्र आगामी गणतन्त्र दिवसको अवसर पारेर २०८१ साल जेठ ११ गते रिलिज हुने बताइएको छ । निर्माता रोहित अधिकारीले यसको पुष्टि गरेका छन् ।
सुयोग गुरुङले निर्देशन गर्ने यस चलचित्रमा अनमोलको साथमा जसिता गुरुङ, समृद्धि अर्याल, रवि काफ्लेको प्रमुख भूमिका रहनेछ । लक्ष्मीपूजाको दिन शुभ मुहूर्त गरेर मङ्सिर १ गतेदेखि छायाङ्कनमा जाने तयारीका साथ हाल यस चलचित्रको वर्कसप चलिरहेको छ ।
रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहने चलचित्रका निर्माताहरू रोहित अधिकारी र ओम अग्रवाल हुन् भने मनोज ओली र रामु न्यौपाने सह-निर्माता हुन् ।