पशुपतिमा ‘भष्मे डन’को क्षमा पूजा



काठमाडौँ।
बहुप्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’को टिमले पशुपतिमा क्षमा पूजा गरेका छन् । सोमबार साँझ भएको क्षमा पूजामा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक दीपेन्द्र के. खनाल, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे सहभागी थिए ।

पशुपति क्षेत्रमा करिब ६५ दिनसम्म भएको छायाङ्कनका क्रममा केही गल्ती कमजोरी भएको खण्डमा माफी पाउँ भनी क्षमा पूजा गरिएको निर्माता लामिछानेले बताए । “मान्छेबाट जान अन्जानमा गल्ती हुन्छ । यदि त्यसो भएको भए भोलीका दिनमा कुनै क्षति नहोस् भनेर क्षमा पूजा गरेका हौँ”, उनले बताए ।

अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रको लागि क्षमा पूजा गरेको पहिलो अनुभव भएको बताउँदै नयाँ अनुभव गर्नुको मज्जा बेग्लै हुने बताइन् । “मैले आजसम्म धेरै चलचित्रमा काम गरेको छु धेरै मन्दिरमा छायाङ्कन गरेकी छु । तर, यो आफ्नो पहिलो पटक भएकाले पनि नौलो र अलग महसुस गरेँ”, उनले बताइन् ।

यस चलचित्रमा स्वस्तिमा सहित विपिन कार्की, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण गरिएको हो । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट र भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu