
काठमाडौँ।
नेपाली चलचित्रको बजारमा नयाँ ओटीटी प्लेटफर्मको उदय भएको छ । सोमबार साँझ काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै कान्तिपुर फिल्म एकेडेमीले ‘कान्तिपुर सिनेमाज’ नामक ओटीटीको शुभारम्भ गरेको हो ।
सो ओटीटीको शुभारम्भ लागि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । ओलीले शुभकामना दिँदै नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सुरु भएको प्लेटफर्मले सफलता पाउने विश्वास व्यक्त गरे । “नेपालमा भारत र चीनको जस्तो ठुलो जनसङ्ख्या छैन । यसैले, यहाँ थुप्रै फिल्म चलेर पनि कलाकारहरूलाई जीवन जिउन गाह्रो छ । धेरै जनसङ्ख्या भएको मुलुकमा एउटा गीत चले पनि जिन्दगी बन्छ”, ओलीले बताए, “यस्तो परिस्थितिको बिचमा सुरु भएको ‘कान्तिपुर सिनेमाज’ले विश्वभर रहेका नेपालीहरूको मन जित्न सक्नेछ ।”
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले ‘कान्तिपुर सिनेमाज’ नेपालको पहिलो सब्स्क्रिप्सन ढाँचाको ओटीटी प्लेटफर्म भएको दाबी गरे । उनले भने, “यो प्लेटफर्ममा नयाँ नेपाली फिल्म, सर्ट फिल्म र सिरिजहरू हेर्न पाउनुहुनेछ । संसारभर यस्ता खालका ओटीटी प्लेटफर्महरू छन् । जुन आज हलको विकल्पका रूपमा स्थापित भइसकेका छन् ।”
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘कान्तिपुर सिनेमाज’ दर्शक र मेकर दुवैका लागि उपयुक्त प्लेटफर्म हुन सक्ने बताए । विश्वभर रहेका नेपाली सिनेमाका पारखीका लागि ओटीटी राम्रो माध्यम भएको भन्दै उनले यसले नेपाली सिनेमालाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे । अभिनेता दीपकराज गिरीले ओटीटी प्लेटफर्म सञ्चालन गर्नु भनेको एउटा ठुलो चुनौतीको काम भएको भन्दै यसमा सफलता पाउनेमा विश्वास व्यक्त गरे ।
वेभ तथा सबै स्मार्ट डिभाइसहरूमा यसको एप उपलब्ध रहेको कार्यक्रममा जानकारी गराइयो । यस प्लेटफर्ममा हाल चलचित्रहरू ‘ज्याकीः आईएम ट्वान्टी वान’ र ‘जुलेबी’ रिलिज गरिएको छ । साथै ‘ब्रह्माण्ड’ र ‘लभ सूत्र’ सिरिजहरू रहेका छन् भने लघु चलचित्रहरू ‘मदर’, ‘खरानी’, ‘ऋतु’ र ‘मिस स्कारलेट’ लगायत उपलब्ध छन् ।