चित्राकी ‘ट्विस्ट’ र ‘मसला’ शुभेक्षा



काठमाडौँ।
यही पौष २७ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘चित्रा’मा ‘मिस नेपाल-२०१२’की सेकेन्ड रनर अप शुभेक्षा खड्का प्रमुख भूमिकामा छिन् । उनले सो चलचित्रमा आफू फ्रेस पात्र रहेको, जसले चलचित्रमा रमाइलो ल्याउने काम गर्ने बताएकी छन् । सञ्चारमाध्यमहरूसँगको कुराकानीमा उनले बाबु छोरीको कथा देखाउन खोजिएको चलचित्रमा आफूले ‘मसला’को काम गरेको र त्यसले ‘ट्विस्ट’ सिर्जना गर्ने बताइन् ।

उनले आफूले ‘ट्विस्ट’ र ‘मसला’ बनेको पात्रलाई आफूले न्याय गरेको महसुस गरेको जनाइन् । उनले भनिन्, “मैले दुई वटा चलचित्रमा काम गरिसकेँ र इमानदारिताका साथ भन्नु पर्दा ‘चित्रा’मा सुटिङका दिनहरू कम भए पनि राम्रो भूमिकामा गरेकाले खुसी थिएँ । अहिले डबिङमा हेर्दा मैले राम्रो गरेको रहेछु भनेर झनै खुसी भएकी छु ।” उनले आफूले कहिल्यै पात्र चयनमा ‘चुजी’ नहुने बताइन् । भन्छिन्, “यस्तो खालको भूमिकामा मात्र काम गर्छु भन्ने छैन तर नयाँ खाले कथा होस्, त्यसमा मेरो मात्रै भूमिका राम्रो होइन कि समग्रमा नै राम्रो कथा बोकेको फिल्म होस् भन्ने मेरो चाहना छ । एउटा यस्तो कथा जहाँ दर्शकले फिल्म हेरेर घर पुगिसकेपछि पनि त्यसले दिएको मनोरञ्जनको स्वाद स्मरणीय रहिराखोस् । भूमिका जस्तोसुकै होस् तर दमदार कथा भएको फिल्म होस् ।”

बाबु छोरीको कथामा बनेको चलचित्रमा अभिनय गरेकी शुभेक्षाले सो सम्बन्धलाई कसरी बुझ्छिन् त ? उनी भन्छिन्, “बुबाहरूको साथ छोरीहरूलाई भयो भने त्यो मेरुदण्डका रूपमा नै हुन्छ । आमाले त माया गर्नु नै हुन्छ तर बुबाहरू चाहिँ भावनात्मक रूपमा कम उपलब्ध हुन्छन् भनिन्छ । तर उहाँहरूले छोरीको जीवनमा जस्तै पढाइसँगै करियरका हिसाबले सहयोगी हुँदा चाहिँ एकदमै ठुलै र महत्त्वपूर्ण हुन जान्छ, त्यो छोरी अर्कै हुन्छे ।” उनले आफ्नो जीवनमा बुवाको सहयोग सम्झिन्, “मेरो बुवा एकदमै सहयोगी हुनुहुन्छ । उहाँ त मलाई सुरुसुरुमा यो क्षेत्रमा आएर राम्रो राम्रो फिल्म खेल्नुपर्छ भनेर प्रेरणा र भरोसा दिने व्यक्ति हो । मेरो हरेक सपनामा सहयोग गर्नुभएको छ ।”

घनश्याम लामिछाने निर्देशित यस चलचित्रमा शुभेक्षाका अलावा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu