उपचाररत गीतकार खनाललाई गीतकार सङ्घद्वारा आर्थिक सहयोगको अपिल



काठमाडौँ।
गीतकार सङ्घ नेपालले गीतकार डी. पी. खनालको उपचार सहयोगार्थ अपिल गरेको छ । एक वक्तव्य जारी गर्दै सङ्घले करिब ४० दिनयता उपचाररत खनाललाई आर्थिक सहयोगको लागि आह्वान गरेको हो । उसले खनालको जीवन रक्षाका लागि स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक, सङ्घ-संस्था एवं सङ्गीत प्रेमी नेपालीहरूमा अपिल गरेको हो ।

खनाल गत कार्तिक ३० गते अचानक अस्वस्थ भई पाटन अस्पताल भर्ना भएका थिए । फोक्सो र ढाडमा रगतका साथै पिप समेत जमेको पत्ता लागेपछि उनको हालसम्म उपचार भइरहेको छ । हाल उनको स्वास्थ्यमा केही सुधार आएको बताइएको छ । हालसम्मको उपचार क्रममा ठुलो धनराशि खर्च भइसकेको र खर्चको अभाव हुँदै गएको कारण सहयोग अपिल गरिएको वक्तव्यमा जनाइएको छ । सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको नेतृत्वमा गएको सल्लाहकार राजेन्द्र थापा, उपाध्यक्ष रमेश कोइराला, महासचिव टिका राई ‘शिव’, र कोषाध्यक्ष चेतन खतिवडाको टोलीले गीतकार खनाललाई अस्पतालमै भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिँदै सङ्घको तर्फबाट रु.२५ हजार आर्थिक सहयोग समेत गरिएको जनाइएको छ ।

इच्छुक दाताहरूले सिधै गीतकार सङ्घको बैङ्क खातामा जम्मा गर्न सक्नेछन् भने अध्यक्ष थापा, महासचिव टिका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडालाई सम्पर्क गर्न सकिने बताइएको छ ।

खनालले ‘बाडुली’, काफल गेडी कुटुक्कै, ‘पर्नु पिर पर्‍यो’, ‘कपुरी क’, ‘भन्देऊ मायाले’, ‘आँखामा गाजल’, ‘मायाको मौसम’ लगायतका दर्जनौँ चर्चित गीतहरू रचना गरेका छन् ।

यस्तो छ वक्तव्य:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu