नेपाली चलचित्र ‘भुठान’मा हलिउड अभिनेता ब्रुसले अभिनय गर्ने



काठमाडौँ।
नेपाली चलचित्र ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको दोस्रो चलचित्र ‘भुठान’मा हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गर्ने भएका छन् । यो चलचित्रमा यसअघि नै दयाहाङ राई र हरिवंश आचार्य अनुबन्धित भइसकेका छन् । यो चलचित्रको अङ्ग्रेजी नाम ‘द वर्ल्डस् ह्याप्पिएयस्ट मेन’ राखिएको छ ।

डर्न सन् १९७९ को चलचित्र ‘कमिङ होम’बाट दुई पटक ओस्कारको मनोनयनमा परेका कलाकार हुन् । उनी अभिनीत चलचित्र ‘नेब्रास्का’का लागि उनले सन् २०१३ मा ‘कान्स फिल्म फेस्टिभल’मा ‘बेस्ट एक्टर’ अवार्ड जितेका थिए ।

ब्रुसले अभिनय गर्न मान्दा एकछिन त विश्वास नै लागेको थिएन । एजेन्सी मार्फत स्क्रिप्ट पठाएका थियौँ, पढ्छन् जस्तो लागेको थिएन”, निर्देशक पौडेलले उत्साहित मुद्रामा ठुलोपर्दासँग भने, “उनको म्यानेजरले निर्माता राजेन्द्रजीलाई अभिनय गर्न राजी भए भनेर फोन गर्दा हामी छक्क पर्‍यौँ । उनलाई स्क्रिप्टले मन छोएछ । हामीले आर्थिक रूपमा उनलाई लिन नसक्ने अवस्थामा पनि हाम्रो प्रोजेक्टमा आए ।”

पौडेलले ब्रुस जस्तो अभिनेतासँग काम गर्न पाउँदा आफू फिल्ममेकर बनेर राम्रो गरेको महसुस गरेको बताए । साथै, पौडेलले एक परिवार भौगोलिक र सांस्कृतिक हिसाबले अलग भएको कथामा बन्ने यो चलचित्र नेपाल र अमेरिकालाई जोड्ने अवसर रहेको बताए ।

‘भूठान’मा नेपाली अभिनेता द्वय हरिवंश आचार्य र दयाहाङ राई सहित जोयस पाण्डेय,अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, कौशिला खनाल कर्माचार्य लगायतले अभिनय गर्नेछन् । भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देश प्रेम र जीवनयात्राको कथामा यो चलचित्र बन्न लागेको हो ।

पौडेलको चलचित्र ‘बुलबुल’ सन् २०१९ मा ओस्कारको अन्तर्राष्ट्रिय विधाका लागि नेपालबाट सिफारिस भएको थियो । उनले यही चलचित्रबाट ‘उत्कृष्ट निर्देशक’ बन्दै ‘राष्ट्रिय चलचित्र अवार्ड’ जितेका थिए ।

‘द वर्ल्डस् ह्याप्पिएस्ट मेन’ सन् २०१९ मा बुसानमा बुसान एसियन प्रोजेक्ट मार्केट अन्तर्गत एक्रोन इन्टरनेशनलमा सहभागी भएको थियो । यसमा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापाको लगानी रहनेछ । एलएन अधिकारी, कौशिला कर्माचार्य, रमेश भट्ट र अपार श्रेष्ठ कार्यकारी निर्माता र दीपक गजमेर लाइन प्रोड्युसर छन् । यो चलचित्र म्याड मङ्की फिल्मस्, ठकुराठी ब्रोस, भ्याकेन्ट लाइट र एभरेस्ट इन्टरटेन्मेन्टको ब्यानरमा बन्दैछ ।

हाल यो चलचित्रको छायाङ्कन अक्रोन, ओहायो र त्यस वरपरका सहरमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu