बाफ्टामा छानिएको ‘गोर्खा वारियर’ फागुन ११ मा रिलिज हुने



काठमाडौँ।
ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा)का लागि छनोट भएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ आगामी फागुन ११ गतेबाट नेपालमा प्रदर्शनमा आउने भएको छ । मिलन चाम्स निर्देशित यो चलचित्रको बेलायतमा रेड कार्पेट प्रिमियर भएको थियो ।

निर्देशक चाम्सका अनुसार भारत र दक्षिण कोरियाका लागि चलचित्र बिक्री भइसकेको छ । उनले अमेरिकाको एक कम्पनीले चलचित्रलाई भारत र कोरियापछि विश्वव्यापी रूपमा रिलिज गर्ने तयारीमा रहेको बताए ।

नेपाली, हिन्दी, अङ्ग्रेजी भाषामा निर्माण भएको यो चलचित्रको कोरियन भाषामा डबिङको काम भइरहेको बताइएको छ । दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा यसमा छ । यो चलचित्रमार्फत रितेश चाम्सले डेब्यू गरेका छन् । चलचित्रमा रितेशसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।

चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइबा छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह निर्मातामा सुरेश राई रहेका छन् । यो चलचित्र लन्डन सिने आई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।

चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको सङ्गीत, राजेश पायल राईको गायन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन रहेको छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu