
काठमाडौँ। बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको सञ्चार रजिस्ट्रारको कार्यालयले आइतबार एक सूचना जारी गर्दै चलचित्र क्षेत्रमा भविष्य बनाउन चाहनेका लागि आव्हान गरेको छ ।
सूचनामा भनिएको छ, ‘कार्यालयले वार्षिक कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८० बमोजिम बागमती प्रदेशका विषयवस्तुमा आधारित भई मौलिक लघु चलचित्रको पटकथा लेखन कार्यशालामा सहभागी हुन चाहने, चलचित्र निर्माण गर्न चाहने, बागमती प्रदेशमा चलचित्र महोत्सव आयोजना गर्न चाहने, एप्रिसियसन कार्यशालामा सहभागी हुन चाहने बागमती प्रदेशमा कम्तीमा पाँच वर्षदेखि क्रियाशील वा बागमती प्रदेशका बासिन्दाका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सूचनामा सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यविधिको अनुसूचीमा तोकिएको ढाँचामा आवेदन दिन सूचित गरिएको जनाइएको छ । चलचित्रसँग सम्बन्धित सरोकारवाला निकाय वा व्यक्तिले कार्यालयको वेबसाइटबाट कार्यविधि डाउनलोड गर्न सक्ने र आवेदन दिन चाहने व्यक्तिले काठमाडौँ उपत्यका कार्यालय वा कार्यालयको इमेलमा आवेदन पठाउन सक्ने भनिएको छ ।