
काठमाडौँ।
चलचित्र ‘हात्तीछाप’लाई लिएर यसका प्रमुख कलाकारहरू सौगात मल्ल र उपासना सिंह ठकुरी उत्साहित छन् । उनीहरूले चलचित्रले दर्शकलाई २ घण्टा पूर्ण रूपमा मनोरञ्जन दिने बताएका छन् ।
चलचित्रबाट अपेक्षाकृत भावमा सौगात भन्छन्, “हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोसिस गरेका छौँ । यसका लागि फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ ।” यसमा सौगात ‘बोतल राजा’को भूमिकामा छन् । यो चलचित्रका लागि सौगातले कपाल पनि लामो पालेका थिए ।
चलचित्र ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लको साथमा अभिनेत्री उपासना सिंह ठकुरीले यो चलचित्रमा एकसाथ काम गरेका छन् । पहिले नै सफल बनिसकेका कलाकारहरूको टिममा रहेकी उपासना ‘हात्तीछाप’लाई लिएर आशातित् छन् । उपासना भन्छिन्, “म स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यस पटक पनि कथा पढ्दा मज्जा लाग्यो । यसमाथि, दया र सौगात दाइ भएपछि फिल्ममा यसै रमाइलो भइहाल्छ ।”
यही माघ २६ गते रिलिज हुने ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका छन् । यसमा दयाहाङ, सौगात, उपासना सहित बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ । निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्वाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायाङ्कन छ ।
रोहित कट्टेलले नेपालमा यो चलचित्रको वितरण गर्नेछन् भने एमएसएम पोस्ट प्रोडक्शनले ओभरसिजमा चलचित्रको वितरण गर्नेछ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रूपमा छन् । सरोज नेपाली चलचित्रका कार्यकारी निर्माता हुन् ।
चलचित्रको ट्रेलर बुधवार सार्वजनिक हुँदैछ ।