
काठमाडौँ।
विन्ध्यवासिनी फाउण्डेसनले एक लाख रुपैयाँ राशिसहित ‘म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८०’ अग्रज गायिका मीरा राणालाई सम्मानित गर्ने भएको छ । शनिवार काठमाडौँमा आयोजित दसौँ वार्षिक भेलाले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै, वरिष्ठ सङ्गीतकार भूपेन्द्र रायमाझीलाई ‘सङ्गीत साधना सम्मान २०८०’ प्रदान गर्ने भएको छ । यो सम्मान नगद ५० हजार रुपैयाँ राशिसहितको हुने बताइएको छ । भेलाले प्रसिद्ध लोक दोहोरी गायक राजु परियारलाई २५ हजार रुपैयाँ राशिको ‘झलकमान लोक सङ्गीत सम्मान २०८०’ प्रदान गर्ने निर्णय गरेको छ । २५ हजार रुपैयाँ राशिसहितको कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई दिने भएको छ । प्रेमध्वज सङ्गीत रत्न सम्मानबाट २५ हजार रुपैयाँ नगदसहित युवा गायक रूपक डोटेललाई सम्मान गर्ने निर्णय भएको छ ।
फाउण्डेसनले हरेक वर्ष विभिन्न सम्मान तथा अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको १४औँ संस्करण चैत १ गते आयोजना हुनेछ ।